तपाईँ सुन्दै हुनुहुन्छः

थलीमा बस्तीको बीचमा प्लास्टिक उद्योग सञ्चालनमा, स्थानीयद्वारा बन्द गर्न माग

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलिस्थित बीच बस्तीमा प्लास्टिक उद्योग सञ्चालन हुन लागेको छ । पशुपति रिसाइकल इन्डष्ट्रिज प्रा.ली. नामक कम्पनीले यस क्षेत्रमा टहरा निर्माण गरेर प्लास्टिक उद्योग सञ्चालन गर्न लागेको हो ।

उद्योग सञ्चालनका लागि गरिने न्यूनतम मापदण्ड र कानूनी प्रक्रिया समेत अवलम्बन नगरेको स्थानीयवासीले बताएका छन् ।  त्यस्ता उद्योग स्थापना गर्दा बस्ती भन्दा टाढा मात्र स्थापना गर्नु पर्ने हुन्छ तर बस्तीकै बीचमा गरिएको साथै वातावरण मूल्याङ्कन समेत नगरिएको स्थानीयवासीले बताएका छन् ।

वरिपरि आवास क्षेत्र, अस्पताल, खेतीयोग्य जमिन, सामुदायिक बन तथा विद्यालय रहेको एक स्थानीयले बताए । उनले भने कुनै कानुनी प्रक्रिया पूरा नगरी बनेको यस उद्योगको विषयमा हामीले स्थानीय निकायमा उजुरी समेत दिएका छौँ चाडै नै निर्णय आउनेमा ढुक्क छौ ।

यसरी बस्तीको बीचमा निर्माण हुने प्लास्टिक उद्योगले जनताको स्वास्थ्य र पर्यावरणमा नकारात्मक असर पार्ने देखिन्छ । उद्योग सञ्चालनका लागि नगरपालिका तथा वडामा कुनै जानकारी नगरी टहरा निर्माण गरेको स्थानीयहरू बताउँछन् । 

यस विषयमा बुझ्दा भीमबारी टोल सुधार समितिका अध्यक्ष मोहन दाहालका अनुसार हालसम्म टोल सुधार समितिले नगरपालिकामा उद्योग चल्न दिने भनी कुनै सिफारिस समेत नदिइएको बताए । पहिले यस विषयमा छलफल भएको र स्थानीयहरूले विरोध गरेर सो उद्योग रोक्न माग गरेको समेत बताए । यस मामलामा स्थानीयको स्वास्थ्यमा असर पर्ने देखिए उद्योग चल्न नदिने समेत दाहालले बताए । त्यस्तै समितिका सदस्य छिरिङ लामाले यसको बारेमा न्यायिक समितिमा उजुरी परेकोले जनताको स्वास्थ्य, स्थानीयको आवाज र कानूनी प्रक्रिया समेतलाई ख्याल गरेर न्यायिक समितिले निर्णय गर्ने बताए ।

त्यस्तै उद्योगका शेयर होल्डर तथा जग्गाधनी कृष्णभक्त श्रेष्ठले सबै कानूनी प्रक्रिया पूरा गरिएको बताए । साथै यसको मुद्दा न्यायिक समितिमा चलिरहेको उनले बताए ।

कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर विन्दु सिम्खडासँग बुझ्दा यो विषय छलफलका लागि न्यायिक समितिमा आएको र कोरोनाका कारण इजलास बन्द भएको हुँदा छलफल हुन नपाएको उहाँको भनाइ छ र अब इजलास शुरु भएकाले केही दिनमा टुङ्ग्याइने उहाँले बताउनुभयो । साथै वडाको सिफारिस समेत नभएको र स्थानीयको समेत असहमति सहित उद्योग रोक्न माग गर्दै निवेदन आएको उहाँले बताउनुभयो । 

त्यस्तै बस्तीको बीचमा त्यस्ता उद्योग सञ्चालन गर्न पाइन्छ भन्ने प्रश्नमा उद्योगीले प्लास्टिकजन्य बस्तु उत्पादन गर्ने नभई भण्डारण गर्ने मात्र बताएको उपमेयर सिम्खडाले बताउनुभयो । यदि स्थानीयवासीको सहमति नभएमा, वडाको सिफारिस नभएमा र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएमा उद्योग सञ्चालन गर्न नदिइने समेत उहाँको भनाई छ । साथै केही दिनमा न्यायिक समितिले सबै बुझेर निर्णय गर्ने समेत उहाँले बताउनुभयो ।

त्यसै गरी स्थानीयवासीले यस विषयमा २०७७ कार्तिकमै वडा कार्यालय, नगरपालिकाको कार्यालय र बन तथा वातावरण मन्त्रालयमा समेत उजुरी समेत दिएको तर त्यसमा कुनै पनि सुनुवाइ नगरेको बताए । शुरुमा वडा कार्यालयले काम रोक्न निर्देशन दिएको भए पनि अटेर गरी मेसिन लगायत अन्य सामानहरू ल्याएको बताए ।

न्यायिक समितिले स्थानीयको आवाज र जनस्वास्थ्यको प्रतिकूल हुनेगरि स्थापना भएको उद्योग बन्द गर्नेमा विश्वास भएको बताए । यदि अटेर गरी उद्योग सञ्चालन गरे स्थानीय चुप नलाग्ने र न्यायको लागि अदालतसम्म पनि जाने बताए ।

कोभिड महामारी र  प्रदूषणले काठमाडौँवासीमा देखिएको स्वास्थ्य समस्याका कारण काठमाडौँको समग्र विकासको अवधारणामा पुर्नबिचार गरी पेट्रोल, डिजेलले चल्ने गाडी र सञ्चालन भइरहेका उद्योग घटाउँदै लानुपर्ने विज्ञहरूको राय रहेको छ । 

यसका साथै यो आर्थिक वर्षबाट ४० माइक्रोन भन्दा कमका प्लास्टिकमा रोक लगाउने नीति समेत  नेपाल सरकारले अगाडि बढाइसकेको छ । यसरी पर्यावरणीय सङ्कट व्यहोरीरहेको काठमाडौँको बीच बस्तीमा सञ्चालन हुन लागेको यस उद्योग सम्बन्धित निकायले समयमा रोक्न नसके यसले सर्वसाधारण तथा पर्यावरणमा गम्भीर क्षति पुग्ने देखिन्छ ।

स्थानीयवासीले वडा कार्यालयमा उद्योग बन्द गर्न दिएको निवेदन

प्रतिक्रिया राख्नुहोस्

Back to top button