थप खोप अनुदान वा खरिदबाट उपलब्ध गराउन आह्वान गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको थप खोप अनुदान वा खरिदबाट उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले थप खोप उपलब्ध गराउन आह्वान गर्नुका साथै नेपाललाई कोरोना विरुद्धको खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्रराष्ट्रलाई धन्यवाद ज्ञापन गरेको सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म लागू हुने गरी विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
बैठकले इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघिको सरकारले नियुक्त गरेको ११ जना राजदूतको नियुक्ति खारेज गर्नुका साथै भारतसँग हुने उडान हप्तामा एक पटकबाट बढाएर हप्तामा तीन पटक पुर्याइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्