तपाईँ सुन्दै हुनुहुन्छः

धान झुल्ने खेतमा गोलभेँडा खेती

स्याङ्जा । वालिङका एक कृषकले धान फल्ने खेतमा गोलभेँडा खेती गर्नुभएको छ । 


वालिङ नगरपालिका १४ तमादीका ददिराम लुइँटेल (दुर्गा) ले धानखेतिलाई मासेर गोलभेँडा खेती गर्नुभएको हो । दुई क्विन्टल धान फल्ने खेतमा उहाँले लटरम्म गोलभेँडा फलाउनुभएको छ ।


२०५४ सालमा तत्कालीन थुम पोखरा गाविस वडा नम्बर ७ को वडा अध्यक्ष तथा जनप्रतिनिधिको रुपमा समेत काम गर्नुभएका लुइँटेलले कृषिलाई समेत सँगै अगाडि बढाउँदै आउनुभएको छ । 

गाउँमा बसेर समाज सेवासँगै परम्परागत रुपमा गरिँदै आएको कृषि पेसालाई आय आर्जनसँग जोड्ने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न थालेको उहाँको भनाई छ । 


गाउँका भाइ भतिजहरू पाँच वर्ष इजरायल बसेर आएपछि काठमाडौँमा जग्गा भाडामा लिएर कृषि पेसा गरेको देखेपछि उहाँलाई पनि व्यावसायिक तरकारी खेतीमा आकर्षण बढेको हो । 


यसअघि उहाँले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको थियो भने अब त्यसालाई विस्तार गर्ने उहाँको योजना छ । एक सिजनमै ५० हजारको आम्दानी गर्न सकिने भएपछि उहाँले टमाटरका बिरुवाहरू लगाउनुभएको थियो । 

हरेक स्थानीय तहले आफ्ना किसानहरूको वर्गीकरण गर्नुपर्नेमा उहाँको जोड छ  । पहुँचको आधारमा सरकारी अनुदानहरू खाने नक्कली किसान भन्दा सक्कली किसान पहिचान गरेर अनुदान तथा सहुलियतका कार्यक्रम गर्नुपर्ने उहाँको धारणा छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button