प्रतिनिधिसभाको आठौँ अधिवेशन सुरु

काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार पुनर्स्थापित सङ्घीय संसद्, प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शपथ सम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ ससद समक्ष प्रस्तुत गर्नुभयो ।
यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ सदन समक्ष प्रस्तुत गर्नुभयो ।
बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सदन समक्ष प्रस्तुत गर्नुभयो । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ सदन समक्ष प्रस्तुत गर्नुभयो ।
बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा र राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनुभएको थियो ।
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्