बढी भाडा लिने सवारी साधन कारबाहीमा

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले तोकिएको दरभन्दा बढी भाडा लिने, सवारी कागजात नभएका र क्षमता भन्दा बढी यात्रु बोकेका सवारी साधनलाई कारबाही गरेको छ ।
सवारी साधनहरूले बढी भाडा लिएको जनगुनासो आउन थालेपछि चेकजाँचका क्रममा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तोकिएको दर भन्दा बढी भाडा असुली गर्ने, सवारी कागजात नभएका र क्षमता भन्दा बढी यात्रु बोक्ने ३ वटा बस, २ वटा जिप, १ भ्यान र ४ वटा अटोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । जिल्लामा सञ्चालन भइरहेका सवारी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि चेकजाँचलाई कडाइ गरिएको उनको भनाई छ ।
सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी भाडा लिएमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुम १००, सूचना अधिकारीसँग सम्पर्क गरी जानकारी गराउन पनि उनले सबै यात्रुलाई आग्रह गरे ।








प्रतिक्रिया राख्नुहोस्