तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा तरकारी जोन विस्तार हुँदै

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा तरकारी जोन कार्यक्रम विस्तार हुने भएको छ । आगामी आर्थिक वर्षदेखि लेटाङ नगरपालिका तथा जहदा र कटहरी गाउँपालिकामा तरकारी जोन  विस्तार हुन लागेको हो । 


परियोजना कार्यान्वयन इकाई विराटनगरले आयोजना गरेको परियोजनाको चालु आर्थिक वर्षको कार्यक्रमको समन्वय तथा प्रगति समीक्षा बैठकमा सो कुराको जानकारी गराएको हो । 


लेटाङ नगरपालिकाको वडा नं ९ मा तथा जहदा गाउँपालिकाको ३ र ४ नम्बर वडा र कटहरी गाउँपालिकाको २, ३, ४ र ६ नम्बर वडामा तरकारी जोन कार्यक्रम विस्तार गर्न लागिएको परियोजना कार्यान्वयन इकाई विराटनगरका  प्रमुख विनोदकुमार मण्डलले बताउनुभयो । उहाँका अनुसार सो पालिकामा ५ सय २५ हेक्टर क्षेत्रफलमा जोन विस्तार हुने र त्यसबाट २ हजार २० कृषक परिवार लाभान्वित हुने छन् ।


त्यसैगरी परियोजनाले रतुवामाई नगरपालिकामा सञ्चालन गर्दै आएको धान जोन कार्यक्रम समेत विस्तार गरेको छ । यस अघि सो नगरपालिकाको ६, ७ , ८ , ९ र १० नम्बर वडामा सञ्चालन हुँदै आएको धान जोन कार्यक्रम १० वटै वडामा विस्तार गरिएको छ । परियोजना अन्तर्गत चालु आर्थिक वर्षमा मोरङ जिल्लमा थप ४४ हेक्टर क्षेत्रफल जग्गामा माछा पोखरी विस्तार भएको छ ।


सो अवसरमा चालु आर्थिक वर्षमा परियोजनाद्धारा सञ्चालित धान तथा माछा जोन साथै मकै क्षेत्रफल विस्तार कार्यक्रमको भौतिक प्रगति ९५ प्रतिशत, पुँजीगत खर्च ९९ प्रतिशत तथा चालु खर्च ७५ दशमलव ३६ प्रतिशत र समन्वय वित्तीय प्रगति ७७ दशमलव १ प्रतिशत रहेको जानकारी गराइयो । 


कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले धान जोन कार्यक्रमलाई सुपर जोनको रुपमा विकास गर्नुपर्ने भन्दै परियोजनाद्धारा सञ्चालित आयोजनालाई थप प्रभावकारी बनाउन सम्बन्धित पालिकाहरूले समेत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

परियोजना इकाई प्रमुख विनोदकुमार मण्डलले परियोजनाले कृषकलाई अनुदान दिएपछि माछा तथा धान जोन कार्यक्रमबाट कृषकहरू लाभान्वित भएको र उनीहरूको जीवन स्तरमा समेत सुधार भएको बताउनुभयो ।


कार्यक्रममा परियाजनाद्धारा सञ्चालित योजना तथा कार्यक्रमको मुल्याकंन तथा समीक्षा गर्दै परियोजना प्रमुख मण्डल तथा कार्यालयका वालि संरक्षण विज्ञ प्रज्ञा गौतम र रोशन मेहताले चालु आर्थिक वर्षको कार्य प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button