तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा लगानी गर्न प्रदेश सभा सदस्यको आग्रह

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री सुनिता कुमारी साहले बर्दिबासमा रहेको रेडियो नेपालमा प्रदेश सरकारलाई लगानी गर्न आग्रह गर्नुभएको छ ।


प्रदेश नंं २ को सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि पेस गरेको बजेट माथिको छलफलमा साहले रेडियो नेपालमा प्रदेश सरकारको स्वामित्वका लागि पनि लगानी गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको बजेटमा रेडियो नेपालका लागि आउनु पर्नेमा नआएको भन्दै बजेट राख्नका लागि माग गर्नुभयो । यसै गरी नेपाल टेलिभिजनको जलेश्वरमा रहेको कार्यालयमा पनि लगानी गरेर प्रसारण आरम्भ गर्न आग्रह गर्नुभयो ।


प्रदेश नंं २ का सरकारले पेस गरेको बजेट माथि असार २५ गते शुक्रवार वाट छलफल शुरु भएको छ । २५ दिनपछि शुरु भएको बजेट माथिको छलफलमा विभिन्न दलका नेताहरूले बोल्ने क्रम जारी रहेको छ । 

प्रदेश नंं २ को बर्दिबासमा रेडियो नेपालले प्रादेशिक प्रसारण विगत दुई वर्षदेखि शुरु भएर सञ्चालनमा रहेको छ । यसका साथै नयाँ भवन पनि निर्माण भइरहेको छ ।


जनकपुरधाम क्षेत्रमा स्तरीय प्रसारणका लागि चाडै ट्रान्समिटर जडान गर्नका लागेको प्रादेशिक प्रसारण केन्द्र प्रदेश नंं २ का कार्यालय प्रमुख रामपुकार रामले जानकारी दिनुभयो । अहिले दिउँसो २ बजेदेखि ६ बजेसम्म प्रदेश नं २ को प्रादेशिक प्रसारण भइरहेको छ । प्रादेशिक प्रसारणबाट मैथिली, भोजपुरी, मगही भाषाको समाचार एवं कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नेपाली भाषाको कार्यक्रम पनि प्रादेशिक प्रसारणबाट प्रसारण भइरहेको छ । सङ्घीय सरकारका तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानूनमन्त्रीले प्रादेशिक प्रसारण केन्द्रको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button