सखुवाको अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा

झापा । प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिकाबाट सखुवाको अवैध काठ बरामद गरेको छ ।
गए राति बुद्ध शान्ति १ होक्सेबाट मे १ त २७४७ नम्बरको ट्र्याकटरबाट प्रहरीले गोलिया १८ थान २६.७१ क्यूफिट र चिरान फेन्टा ९ थान १५.८६ क्यूफिट गरी ४२.५६ क्यूफिट काठ बरामद गरेको हो ।
त्रिपालले छोपेर बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा काठ फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट सादा पोसाकमा गएका प्रहरीलाई देखेर चालकले ट्याक्टर भगाउन खोजेका थिए ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिई चाबी खोसेपछि स्पेयर चाबीले ट्याक्टर भगाए पनि बाटो नभेटेपछि ट्र्याक्टर छोडेर चालक भागेको स्थानीयले बताएका छन् । चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्