जुम्लाबाट ३१ करोडको कृषि वस्तु निर्यात

जुम्ला । जुम्लाबाट चालु आवमा करिब ३१ करोड बराबरको कृषि बस्तु निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार देशका विभिन्न सहरमा करिब ३१ करोडको कृषि बस्तु निर्यात भएको हो ।
विशेष गरी जुम्लाबाट काठमाडौँ, सुर्खेत, नेपालगन्ज लगायतका सहरमा निर्यात हुने गरेको छ ।
जुम्लामा उत्पादित कृषि वस्तुको माग बढ्दो अवस्थामा रहेकाले उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार स्याउ, ओखर, आलु, प्याज, जुम्ली मार्सी धान, मार्सी चामल, सिमी र जौ जिल्ला बाहिर निर्यात भएको हो ।
जुम्लाबाट चालु आवमा १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउ निर्यात गत आवको भन्दा करिब १८ करोड कम हो । ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो ।
साथै, ओखर ५ सय ९० मेट्रिक टन उत्पादन भएकोमा ३ सय २१ मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांङकमा उल्लेख छ । ओखरबाट १ करोड रुपैयाँ भित्रिएको छ । ओखर प्रतिकेजी ४ हजारमा विक्री भएको छ ।
स्याउ खेती भन्दा स्याउ खेती सजिलो आम्दानी पनि बढी हुने भएकोले पछिल्लो समय जुम्लाका किसान ओखर खेतीमा पनि आकर्षित हुन थालेका छन् । साथै, आलु २७ हजार मेट्रिक टन उत्पादन भएको थियो । ११ हजार मेट्रिक टन आलु निर्यात गर्दा करिब ४ करोड ९५ लाख भित्रिएको छ ।
प्याजबाट पनि जुम्लामा १ करोड ५० हजार रुपैयाँ आम्दानी भएको छ । ३ सय ५५ मेट्रिक टन प्याज उत्पादन भएकोमा २ सय मेट्रिक टन प्याज बाहिर निर्यात गरिएको हो ।
जुम्ली मार्सी धान ३ हजार ३ सय मेट्रिक टन उत्पादन भएकोमा २ सय मेट्रिक टन निर्यात भएको थियो । धानबाट २ करोड रुपैयाँ जुम्ला भित्रिएको कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । ९० मेट्रिक टन मार्सी चामल निर्यातबाट १ करोड ६२ लाख रुपैयाँ भित्रिएको छ । १ करोड ८ लाख बराबरको १ हजार २ सय मेट्रिक टन सिमी, ६२ लाखको जौ, गरी विभिन्न कृषि बस्तुबाट जुम्लामा ३१ करोड भित्रिएको छ ।
जुम्लामा कृषिको प्रचुर सम्भावना भएकोले आगामी आवका देखि जुम्लाका सबै पालिकामा उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गरी कृषिको उत्पादकत्व वृद्धिमा जोड दिइने कर्णाली प्रदेश सरकारको लक्ष्य छ ।








प्रतिक्रिया राख्नुहोस्