तपाईँ सुन्दै हुनुहुन्छः

बालक हत्या प्रकरणमा दुई बालिका पक्राउ

टीकापुर कैलाली । हिजो टीकापुरमा मृत फेला परेका साढे तीन वर्षका बालक विवेक विष्ट ‘गोलु’ को हत्यामा संलग्न भएको आशङ्कामा नातामा दिदी पर्ने १५ वर्षीया बालिका र बालिकाकी  १४ वर्षीया साथीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले आज टीकापुरमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिनु भएको हो ।

यही असार २१ गते सोमबारका दिन बिहान ११ बजेतिर टीकापुर नगरपालिका वडा नं १ ब्लक नं ८ का दिलीप विष्टका छोरा विवेक नातामा दिदी पर्ने १५ वर्षीया बालिकासँग घरबाट निस्केका थिए । त्यसपछि हराएका विवेक असार २३ गते हिजो साँझ टीकापुर नगरपालिका वडा नं ४ बाघमारास्थित जमराकुलोमा मृत अवस्थामा भेटिएका थिए ।

नातामा दिदी पर्ने ती बालिकाले घरबाट डेढ सय मिटर पर जामुन खान भनी लगेको र त्यहाँबाट ४०० मिटर पर जमरा कुलोमा लगेर खुट्टामा लगाएका दुई वटा चाँदीका बाला खोलेर कुलोमा धकेलेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभएको छ ।

उमेर कम भएका कारण दुवै बालिकाको नाम र तस्बिर सार्वजनिक गरिएको छैन । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख उपरीक्षक विश्व अधिकारी र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल टीकापुर पुग्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button