तपाईँ सुन्दै हुनुहुन्छः

उन्नत धान भन्दा काली मार्सी खेतीमा जुम्ली किसानको आकर्षण

जुम्ला । उन्नत जातको धान भन्दा रैथाने कालिमार्सी धानको खेतीमा जुम्ली किसानको आकर्षण देखिएको छ । 


उन्नत धान भन्दा कालिमार्सीको बजार मूल्य पनि बढी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा माग पनि बढ्दै गएकोले कालिमार्सी धानको खेतीमा जुम्ली किसान आकर्षित भएका हुन् । 


हाल जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भन्नुभयो,“२९ सय हेक्टरमध्ये १५ सय हेक्टरमा रैथाने कालिमार्सी धान र १४ सय हेक्टरमा उन्नत जातको धान खेती भइरहेको छ ।” जुम्लाका करिब ५५ प्रतिशत किसानले काली मार्सी धानको खेती गरिरहेका छन् । ४५ प्रतिशतले उन्नत जातको धान खेती गरिरहेका हुन् ।


जुम्लामा पाँच वटा जातको धान खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जसमा चन्दननाथ १, २ र लेकाली १ लेकाली २ गरी उन्नत जातको र रैथाने काली मार्सी गरी पाँच जातको धानी खेती भइरहेको प्रमुख देवकोटाको भनाई छ । 

नेपालमै महँगो मूल्यका रुपमा प्रतिकेजी १ सय २ रुपैयाँ कालिमार्सी धानको मूल्य निर्धारण समेत गरिएको छ । जुन मूल्य नेपालकै सबैभन्दा बढी मूल्य मूल्य हो । भर्खरै १८ टन क्यानडा गएपछि र देशभरका कोसेली घरमा जुम्ली कालिमार्सी चामलको माग बढ्न थालेपछि किसानको आकर्षण बढेको पाइएको छ । 


बजारको माग अनुसार कालिमार्सी धान खेतीको क्षेत्र विस्तारका लागि कृषि कार्यालयले योजना बनाएको छ । देशभर असार १५ गते धान दिवस मनाए पनि जुम्लामा चैत १२ गते धान दिवस र जेठ १५ गते रोपाई महोत्सव मनाउने गरिन्छ । 

जुम्लामा यस वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिक टन मात्रै रैथाने बाली उत्पादन भएको छ । करिब ५ वर्ष यता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ भने मार्सी धानको उत्पादनमा थोरै वृद्धि भएको छ । 


१२ हजार मेट्रिक टन अन्नबाली उत्पादन हुँदा मार्सी धान मात्रै ६ हजार ६ सय ७० मेट्रिक टन धान उत्पादन भएको छ । अझै धानको उत्पादकत्व बढाउन आठै स्थानीय तहले कृषि केन्द्रित नीति तथा बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको कृषि विज्ञहरू बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button