सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बजेट ४३ करोड बढी

सप्तरी । कोभिडको कारण मारमा परेका जनता तथा कृषकलाई फाइदा पुर्याउने उद्देश्यले तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पाँचौँ गाउँ सभामा बिहीबार प्रस्तुत गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाको आ.व. ०७८/०७९ को कुल बजेट ४३ करोड १६ लाख ७७ हजार ७ सय ५० रुपैयाँ ८० पैसाको बजेट प्रस्तुत गरेको छ । कुल बजेटको चालु तर्फ २५ करोड २० लाख ७७ हजार ७ सय ५० रुपैयाँ ८० पैसा र पुँजीगत तर्फ १७ करोड ९६ लाख रुपैयाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ५० लाख रुपैयाँ प्रक्षेपण गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो ।
कूल बजेटमा सङ्घबाट प्राप्त हुने वित्तीय समानिकरणतर्फ १२ करोड १४ लाख र सशर्त अनुदानतर्फ १८ करोड ६९ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ७९ लाख ७० हजार रुपैयाँ, पुँजीगततर्फ समपूरक अनुदान ३ करोड १३ लाख रुपैयाँ रहेको छ । यसै गरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरणतर्फ ८२ लाख ४० हजार, राजस्व बाँडफाँडबाट ३० लाख १७ हजार ७ सय ५० रुपैयाँ ८० पैसा, विशेष अनुदानतर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख तथा युनिसेफबाट ३५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो ।
गाउँपालिकाको आठ वटै वडाहरूलाई आगामी आर्थिक वर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ६० लाख तोकिएको छ ।
आर्थिक, सामाजिक, कृषि र पूर्वाधार : सुशासन र व्यवहार परिवर्तन विकासको मूल आधार नारालाई आत्मसात् गर्दै आ. ब. २०७८/०७९ मा कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नति र स्वस्थ जनशक्ति विकासमा जोड दिने, कृषि क्षेत्रको विकासको लागि कृषि तथा पशुपालन क्षेत्रलाई समय सुहाउँदो प्रविधियुक्त, व्यावसायिक तथा सामूहिक खेती, व्यावसायिक पशुपालन, सिँचाई सुविधाको विकास गरी कृषिलाई व्यवसायीकरण गर्ने, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार आधारभूत स्वास्थ्य तथा खानेपानी लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने तथा विपद् प्रभावित गाउँपालिकालाई विपद्को जोखिमबाट मुक्त गर्न कार्यक्रमहरू सञ्चालन गर्ने भनी प्राथमिकताको क्षेत्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले बताउनुभयो ।
खेतीको लागि कृषि मिटर जडान गरेका कृषकहरूलाई वर्षभरिमा लाग्ने महसुलमध्ये बढीमा १ हजार १ सय रुपैयाँसम्म गाउँपालिकाले तिरिदिने, कोभिड–१९ को कारण मारमा परेका जनतालाई सहुलियत दिन गाउँपालिका भरि घरायसी प्रयोजनको लागि जडान गरिएको ५ देखि ३० एम्पीयरसम्मको विद्युत् मिटरबाट खपत हुने महसुलमध्ये विद्युत् प्राधिकरणले निर्धारण गरेको न्यूनतम महसुल गाउँपालिकाबाट बेहोरिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत झाले जानकारी दिनुभयो ।
यसै गरी कोभिडको कारण ज्यान गुमाएका व्यक्तिको बालबालिकालाई प्राथमिक शिक्षा अध्ययनको लागि शैक्षिक सहयोग स्वरूप मासिक एक हजार रुपैयाँ दिइने, विद्यालय स्वास्थ्य पोषण कार्यक्रमलाई आधारभूत तहको विद्यालयबाटै कार्यान्वयन गरिने, माध्यमिक विद्यालयमा अध्ययनरत आइरन चक्की र जुकाको औषधि वितरण गर्ने गरिएकोमा आर्थिक बर्ष २०७८/०७९ देखि आधारभूत तहका विद्यालयमा अध्ययनरत १० देखि १९ वर्षका बालिकालाई समेत आइरन चक्की र जुकाको औषधि वितरण गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत बालबालिकाको दाँत, मुख, नाक, कान तथा आँखाको परीक्षण गर्ने, सामुदायिक विद्यालयमा हाल कायम रहेको शिक्षकको अभाव पूर्तिका लागि आगामी आर्थिक वर्षमा स्वयंसेवक शिक्षक भर्ना गरी दरबन्दी कम भएका सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराउने, पूर्ण असक्त अपाङ्ग, असहाय, जेष्ठ नागरिकहरूको मासिक घरदैलो स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिइने कार्यक्रम अधिकृत झाले बताउनुभयो ।
विभिन्न विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा समुदायको सहभागितामा विपन्न बस्तीहरूका शौचालय नभएका घरहरूमा हात धुने सुविधा सहितको शौचालय निर्माण अभियान सञ्चालन गरिने, पालिकामा रहेका सबै कार्यालयहरू, शिक्षण संस्थाहरू र स्वास्थ्य संस्थाहरूमा निर्धारित मापदण्ड अनुसार खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चित गरिनुका साथै खानेपानी र सरसफाइ अन्तर्गत निर्माण हुने सबै प्रकारका संरचनाहरू बाल, लैगिंक, अपागं र वातावरणमैत्री हुने सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविर सञ्चालन तथा गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
यसै गरी आर्थिक बर्ष २०७८/०७९ मा सबै वडा कार्यालय तथा कम्तीमा १० वटा विद्यालयमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने, आर्थिक बर्ष २०७८/०७९ मा विपद् सिकाई केन्द्र र वेदर फोरकास्ट स्टेशन (मौसम पूर्वसूचना केन्द्र) स्थापना गरिने छ ।
कर्मचारीहरूको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याण कोष स्थापना गरिने र सो को कार्यान्वयनको लागि आवश्यक कार्यविधि बनाइने नीति लिइएको छ ।
पाँचौँ गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू दिनेश्वर मिश्र, खगेन्द्र मण्डल, मनोज चौधरी, गोपी मण्डल, राजेन्द्र साह, गोविन यादव, गुलाबप्रसाद सिंह, लक्ष्मीप्रसाद मण्डल, सदस्यहरु मान्ती सदा, रफिद मन्सुरी, रामनारायण साह, शिवनारायण मण्डल, रामलखन यादव सहितले मन्तव्य व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले स्वागत गर्नुभएको सो कार्यक्रम विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले सञ्चालन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्