तपाईँ सुन्दै हुनुहुन्छः

लोतन्तीका ६० चेपाङ परिवारलाई खाद्यान्न सहयोग 

चितवन ।  चितवनको कालिका नगरपालिका– १०, लोतन्ती–टुँडिखेल–छ्यासिलिन–क्याङ्सिराङ गाउँका ६० चेपाङ परिवारलाई जेन्टल हर्ट फाउन्डेसन, काठमाडौँद्वारा खाद्यान्न सहयोग गरिएको छ ।

हिजो रेडियो नेपालको अनलाइनमा “लकडाउनमा चेपाङको पीडाः अपाङ्ग बुबासहित २२ जनाको परिवार” शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

समाचार पढेपछि जेन्टल हर्ट फाउन्डेसन काठमाडौंका अध्यक्ष अर्जुन ढकालले उक्त विपन्न बस्तीका चेपाङ परिवारलाई अनिकाल टार्न खाद्यान्न सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

जेन्टल हर्ट फाउन्डेसन काठमाडौँले प्रत्येक चेपाङ परिवारलाई १ बोरा चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल उपलब्ध गराएको हो । जेन्टल हर्ट फाउन्डेसनका चितवन कोअर्डिनेटर ईश्वरकुमार श्रेष्ठ, लायन्स क्लब अफ चितवन कालिकाका पूर्व अध्यक्ष सुदर्शन अधिकारी, चेपाङ अभियन्ता तथा पत्रकार केपी किरण शर्मा, राष्ट्रिय आधारभूत विद्यालय लोतन्तीका प्राचार्य भीमबहादुर तामाङ, स्थानीय युवा समाजसेवी कृष्ण तामाङको उपस्थितिमा सामाग्री वितरण गरिएको हो ।

अन्न नहुँदा गिट्ठा भ्याकुर खान बाध्य भएकोमा चामल पाउँदा साह्रै खुसी लागेको रामकुमारी चेपाङले बताइन । ‘अब यो १ बोरा अन्नले केही दिन त ढुक्कसँग बच्चा बच्चीलाई खुवाउन र परिवार पाल्न पाइने भयो’ उनले खुसी हुँदै भनिन ।

सो जेन्टल हर्ट फाउन्डेसनले चितवनको कालिका नगरपालिका र इच्छा कामना गाउँपालिकाको विभिन्न विपन्न बस्तीमा यस अगाडी पनि खाद्यान्न, जाडोका कपडा, झुल, विद्यार्थीहरूका लागि स्टेशनरी, झोला, कपडा, जुत्ता सहयोग गर्दै आएको छ भने निःशुल्क सिलाई कटाई तालिम समेत दिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button