सप्तरीमा भोलिदेखि खाद्यान्न पसलहरू ३ घण्टा खुल्ने

सप्तरी । सप्तरीमा भोलिदेखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरू ३ घण्टा खुल्ने भएको छ ।
आज (बुधवार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्था केन्द्रको बसेको बैठकले सो निर्णय गरेको हो ।
वैशाख २५ गते राती १२ बजेदेखि जिल्लाका शहरी क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिएकोमा हालका केही दिनदेखि संक्रमण घट्दो अवस्थामा रहेकोले जेठ १० गते सोमबारदेखि बजारमा साँझ ५ बजेदेखि बेलुका ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल खोल्ने व्यवस्था गरिएकोमा अब पुन १ घण्टा थप गरी दिउसो ४ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
उक्त अवधिमा खोलिएका पसलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र पसल सञ्चालन गर्ने तर फुट पाथमा बिक्री गर्ने पसल र हटिया सञ्चालन गर्न नपाइने निर्णय गरेकोले सोही अनुसार गर्न गराउन प्रशासनले सूचनामार्फत जानकारी गराएको छ ।
त्यसै गरी बैङ्क तथा वित्तीय संस्थाहरू जेठ ०६ गते देखि अत्यावश्यक परेका कारोबार बाहेक सेवा प्रवाह जेठ १९ गते सम्म बन्द गरिएकोमा मिति २०७८।०२।२० गते देखि आइतबार, मङ्गलवार र बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने गरी खुला गर्ने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै कृषि सामाग्री मल,बिउ, बिजन जस्ता आपूर्ति गर्ने सरकारी अर्ध सरकारी तथा निजी संस्थाहरूले आलो पालो मिलाई बढी भिडभाड हुन नदिने गरी स्वास्थ्य प्रोटोकल पालना गरेर मात्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।
स्थानीय स्तरमा वितरण गर्दा सम्बन्धित स्थानीय तहले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने व्यवस्था मिलाउने, उक्त आलो पालो मिलाएको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने समेत निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्