निषेधाज्ञाले दूध थन्किँदा मर्कामा भैँसीपालक किसान
जुम्ला । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दूध विक्री नभएपछि जुम्ली किसान मर्कामा परेका छन् ।संक्रमण दर दैनिक बढ्दै गएपछि औषधी पसल बाहेक सबै सेवा बन्द हुने गरी निषेधाज्ञा जारी भएपछि घरमै दूध थन्किँदा किसान मर्कामा परेका हुन् ।
गुठिचौर गाउँपालिका ५ का भैँसीपालक किसान विष्णु धिताल घरमा निषेधाज्ञाले दैनिक ४० लिटर दूध थन्किएपछि घाटा बेहोर्नुपरेको बताउँछन् । जुम्लामा कडा निषेधाज्ञा जारी भएसँगै दूध विक्री नहुँदा समस्या भएको उहाँको भनाई छ । बिहानै ६ बजेर मोटरसाइकलमा बजारका गल्लीमा दूध बचेर वार्षिक लाखौँ कमाउने गर्थे किसान धिताल ।
सरकारी जागिर त्यागेर २०६२ सालदेखि भैँसीपालनमा होमिएका किसान धिताल दूध बेचेरै महिनामा २५–३० हजार कमाउँछन् । दैनिक ४० लिटर दूध ल्याएर बजारमा बिक्री गर्ने उनको व्यापार आजभोलि ठप्प भएको छ । जसका कारण दैनिक ५ देखि ६ हजार बराबरको घाटा भइरहेको उनको भनाइ छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन दैनिक अनिवार्य दूध खान आवश्यक रहे पनि निषेधाज्ञाले दुख विक्री समेत ठप्प हुँदा उपभोक्तालाई सँगै किसानलाई असर परेको छ । दैनिक घाटा मात्रै बेहोर्नु पर्दा जुम्लाका भैँसी पालक किसान भैँसीलाई दाना कसरी खुवाउने चिन्तामा किसान छन् ।
स्वास्थ्य मापदण्ड पालना गरी माग गरेका उपभोक्ताका घरमा दूध पुराउने व्यवस्था गरिदिन समेत दुग्ध किसानले प्रशासनलाई माग गरेका छन् ।
दूधबाट घिउ, छुर्पीबाहेक अन्य परिकार बनाउन ज्ञान र साधन नभएको किसानको भनाई छ । ‘न त तालिम पाएका छौ, नत औजार नै छ ।’
दूध बेचेरै घर खर्च, छोराछोरीको पढाई खर्च जुटाइरहेका किसान धितालले आफु जस्तै धेरै किसान दूध थन्किँदा प्रत्यक्ष मारमा परेकाले दूध विक्रीको वातावरण बनाइदिन अपिल गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्