तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अस्पतालका आकस्मिकबाहेक सम्पुर्ण सेवा बन्द

सिमकोट। हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकस्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरिएका छन् ।

नेपालगन्जबाट हवाई मार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको छ ।

डिसीसिएमसीका सदस्यसचिवसमेत रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख सिंहले बताउनुभयो । आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवा दैनिक चौबीस घण्टा सञ्चालित हुने भएका छन् ।

यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा ड्युटीमा खटाइएको छ । अस्पताल खुला राख्दा मानिसको चहलपहल बढी हुने देखिएपछि अस्पतालले अन्य सेवा बन्द गरिएको जनाइएको छ । सेवा बन्द गरिएपछि कोरोना त्रासको कारण बिरामीको न्यून सङ्ख्यामा उपस्थिति रहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको भए पनि बिरामीले सवारी साधन प्रयोग गरेर अस्पतालसम्म आउन सक्ने जनाएको छ । यस्तै स्वास्थ्य सेवा कार्यालयले पाँच वटा सघन उपचारकक्ष शय्या तयारी अवस्थामा रहेको र सबैको साथ सहयोग पाएको खण्डमा १५ वटासम्म बनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

जिल्ला अस्पतालमा तीन वटा अक्सिजन प्लान्ट भए पनि दुईवटाले मात्रै काम गरिरहेको र एउटा मर्मत गरेर अति आवश्यक कामका लागि प्रयोगमा ल्याइने भएको प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button