तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडी । बैतडीमा भोलि सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गर्नु भएको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि जेठ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले  बताउनुभयो ।
सोमबार बिहानदेखि जेठ २ गते राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन ।
खाद्यान्न तथा तरकारी पसल दैनिक बिहान ७ देखि १० बजेसम्म मात्रै खुला रहने छन् । अतिआवश्यकीय सेवा एम्बुलेन्स तथा औषधि पसल भने खुला रहने बताइएको छ ।
यस्तै कुनै निर्माणका कामहरू गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती कामहरू सञ्चालन गर्न दिने निर्णय भएको छ । विवाह, व्रतबन्ध जस्ता कार्यहरू थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही हुने बताइएको छ ।
बैतडीमा कोरोनाका संक्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट समेत निषेधाज्ञा लागु गर्नुपर्ने आवाज उठेको थियो । जिल्लामा हालसम्म २ सय १३ जना कोरोना संक्रमित रहेका छन् भने ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button