तपाईँ सुन्दै हुनुहुन्छः

जनताको जीवन रक्षा सर्वाधिक प्राथमिकता : अर्थमन्त्री पौडेल

file photo
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यति बेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नु भएको छ।
कोभिड–१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको हो ।
कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितमा अघिल्लो पटक कोभिड–१९ का बेलाका सिकाइहरूलाई समेत आधार मान्दै अघि बढेका छौँ, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भन्नुभयो “सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाई जित्नुको विकल्प हामीसँग छैन”
उहाँले वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताउनुभयो ।
जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड १९ विरुद्धको खोप ल्याइ नागरिकहरूलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिनुभयो ।
कोभिड–१९को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुन उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुन असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताउनुभयो ।
जनताको जीवन रक्षाका लागि नै ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गर्नु परेको बताउनुहुँदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन,  स्वास्थ्य मापदण्ड र निर्णयहरुलाई पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।
सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरू, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैङ्क तथा सहकारी,  लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन  गर्न सुझाव दिएको छ ।
सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमूलक समाचारका लागि प्रोत्साहन स्वरूप फेलोसिपको व्यवस्था गर्न, पत्रकारको पेशागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, आर्थिकसँग सम्बन्धित बिटको विकासका लागि प्रोत्साहन गर्ने लगायतका  कार्यक्रम ल्याउन सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button