झापा गाउँपालिका देशकै पहिलो उज्यालो पालिका घोषणा

झापा । जिल्लाको झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको छ ।
आफ्नो क्षेत्रभित्रका सबै घर, सबै टोल र गाउँ गाउँमा बिजुली बत्ती पुर्याउन सफल भएसँगै झापा गाउँपालिकालाई उज्यालो पालिका घोषणा गरिएको हो ।
उज्यालो पालिका बन्ने झापा गाउँपालिका देशकै पहिलो बनेको छ । देशको कुनै पनि पालिका अहिलेसम्म उज्यालो पालिका घोषणा गर्न सफल भएको छैन ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरण प्रदेश १ विराटनगरका प्रमुख टेकनाथ तिवारीले बोर्डको स्विच अन गरेर झापा गाउँपालिकाको नक्सामा बिजुली बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि तिवारीले प्रदेश नं १ को १४ वटा जिल्लामा २४ वटा वितरण केन्द्रहरू रहेको बताउनुभयो ।
उहाँले ४०–५० किलोमिटर तार सम्झौता गरेको उद्योगले समयमा तार उपलब्ध नगराउँदा खेतीमा सिँचाइका लागि बिजुली बत्ती पुर्याउन नसकेको बताउनुभयो । कृषिमा सिँचाइको लागि भविष्यमा विद्युत् निःशुल्क हुने सम्भावना रहेको समेत उहाँले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष शाहले नेपालमै पहिलो पटक झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुहुँदै सबै जनप्रतिनीधिहरुको सपना साकार भएको जनाउनुभयो ।
अध्यक्ष शाहले अब जहाँ जहाँ २ फेस लाइन छ त्यहाँ ४ फेस बिजुलीको लाइन जोड्ने काम द्रुत रुपमा अगाडी बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रत्येक गाउँ टोलको खेत खेतमा बिजुली बत्ती पुर्याउनको लागि गाउँपालिका भोलिदेखि लागि पर्ने समेत उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्