झापा आन्दोलनका योद्धा तामाङलाई घर बनाइदिने

भद्रपुर, झापा । झापा आन्दोलनका योद्धा अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने बस्ने ७४ वर्षीय मनकुमार तामाङले पक्की घर पाउनुहुने भएको छ । सञ्चार माध्यममा तामाङ बस्ने घरको तस्बिर र उहाँले भोगेको राजनीतिक पीडासहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उहाँको पक्की घर बन्ने भएको हो ।
तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको अङ्गरक्षक हुनुहुन्थ्यो । सर्वसाधारणको हत्या गरेको आरोपमा तत्कालीन शासकले उहाँलाई पक्राउ गरेर १७ वर्ष ७ महिना ७ दिन जेल हालेको थियो । तामाङलाई प्रहरीले पक्राउ गरेपछि ओली पनि पक्राउ पर्नुभएको थियो । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि तामाङ जेलमुक्त हुनुभयो ।
सञ्चार माध्यममा तामाङको कहाली लाग्दो राजनीतिक भोगाई सार्वजनिक भएपछि अर्जुनधारा नगरपालिकाले उहाँको निर्माण हुने घरका लागि ३ लाख दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख हरिकुमार रानाले राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका योद्धाको लागि ३ लाख दिने बताउनु भयो । यस्तै झापाको चारपानेस्थित सहारा नेपालले पनि तामाङको घर निर्माणका लागि चासो देखाएको छ । सहारा नेपालको एक टोलीले बुधवार तामाङको घर र उहाँको अवस्थाका बारेमा जानकारी लियो ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि तामाङको बारेमा गम्भीर चासो व्यक्त गरेको छ । स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठकलाई फोन गरेर सञ्चारमाध्यमका आएका कुरा बारे जानकारी लिनुभएको थियो ।
तामाङको घर निर्माणका लागि बुधवार निर्माण उपभोक्ता समिति गठन भएको छ । अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मनकुमार तामाङको घर निर्माण उपभोक्ता समिति गठन भएको हो । समितिले वैशाख १९ गते घरको शिलान्यास गर्ने कार्यक्रम रहेको बताएको छ ।
समितिका संयोजक भट्टराईका अनुसार एटेच बाथरुम, भान्सा कोठासहित ३ कोठाको आरसिसी घर निर्माण गरिने छ । अर्जुनधारा नगरपालिकाको प्राविधिक शाखाले घर निर्माणको लागत ८ लाख हुने बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्