ओखलढुङ्गामा पाइप बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
ओखलढुङ्गा । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।
घाँस काट्न जाँदा शङ्कास्पद बस्तु देखेपछि स्थानीयले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम १ थान र अन्य २ थान शङ्कास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।
जिल्लाबाट प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठको कमान्डमा ५ जना प्रहरी र अरिदमन गण ओखलढुङ्गाबाट क्याप्टेन फत्त नारायण श्रेष्ठको कमान्डमा गएको ९ जनाको डिस्पोजल टोलीले उक्त बम डिस्पपोज गरेको छ । ‘निकै पुरानो बम रहेछ । सुरुमा डिस्पोज गर्न समस्या भयो पछि त्यो क्षेत्रमा एउटा तरङ्ग दिनेगरि पड्कियो । सायद द्धोन्द्धको समयमा राखिएको बम हो । प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठले भन्नुभयो, ‘यत्तिका दिनसम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरू पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।’ कतै त्यस्तो शङ्कास्पद बस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आग्रह गरेको छ ।
तत्कालीन माओवादीले द्वोन्न्द्धको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन । द्धन्दकाल अन्त्य भएको लामो समय भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीय त्रासमा छन् ।








प्रतिक्रिया राख्नुहोस्