तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना अस्पताललाई १ करोड ७५ लाख रकम उपलब्ध गराउने

रुपन्देही ।  कोरोना विशेष अस्पतालमा अक्सिजनसहितको बेड व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताललाई तत्काल १ करोड ७५ लाख रकम उपलब्ध गराउने भएको छ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी कोरोना विशेष अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङ र बाँकेमा रहेका कोरोना विशेष अस्पतालका लागि आवश्यक अक्सिजन बेड व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैंया र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउन लागिएको हो  ।
मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा आज(सोमबार)बसेको कोरोना रोकथाम, उपचार तथा निर्देशन समितिको बैठकले कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको बेड व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो ।
बैठकले  कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको सल्लाहकार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button