यो साता भारतमा २० सहित नेपाल बाहिर २३ जना नेपालीको मृत्यु

काठमाडौँ । यो साता भारतमा २० सहित विदेशमा २३ जना नेपालीको कोरोनाका कारण निधन भएको छ ।
गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको जनाएको छ ।
भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो ।
भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको छ ।
निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । यो सँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये दुई सय पैँतालिस जना मध्यपूर्वमा कार्यरत रहेका छन् ।
अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् ।
यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो ।
यो वर्ष सुरु भएपछि भने यही अप्रिल महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
गत वर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरू कोरोना सङ्क्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरू परिचालन गरिएको जानकारी दिनुभयो । नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरू रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरूलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उहाँले बताउनुभयो ।
टेलिहेल्थ सेवा प्रयोगका लागि एनआरएनएको आग्रह
एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए फोन बाट परामर्श लिन सकिने जनाएको छ । तभभिजभबतिज२लचलब।यचन मा इमेल पठाएर पनि परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।
स्वास्थ्य समितिले दुई ओटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरी सकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ ।
डा. सापकोटाले सङ्घले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ सुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्ने बारेमा नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका तीन सय सहरमा २५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिनुभयो ।
मानसिक स्वास्थ्य समस्यामा वृद्धि
कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्याहरू देखिएको चिकित्सकहरूले बताएका छन् ।
समिति संयोजक डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकहरूले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताएका छन् । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए ।
मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालिम सञ्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिनुभयो । त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरूमा कार्यरत नेपाली चिकित्सकहरू सहभागी छन् । विदेशमा रहेका नेपालीहरूको अवस्थाको तथ्याङ्क सङ्कलनमा युरोप संयोजक डा. बोधराज सुवेदी, युकेबाट डा. दिलीप यादव, कतारबाट डा.नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा. सरिता भट्टराई र स्पेनबाट नर्स साङ्ग्रिला लामा, लगायतको टोलीले तथ्याङ्क सङ्कलन गर्न सहयोग गरिरहेका कोभिड १९’ उच्चस्तरीय समिति गैर आवासीय नेपाली संघका प्रेस संयोजक, चिरन शर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्