तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएको निर्माण कार्य तत्काल सुचारु गर्ने मन्त्री नेम्वाङ्गको प्रतिबद्धता

वीरगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले हुलाकी सडक आयोजना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री नेम्वाङले रोकिएको सडक निर्माण तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आवश्यक परे वन मन्त्रालय र राष्ट्रिय निकुञ्जका प्रतिनिधिलाई साथमै लिएर निर्माणाधीन सडकको स्थलगत अवलोकन गर्न आफैँ ठोरी आउने पनि मन्त्री नेम्वाङले बताउनुभयो ।
वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत ठोरी १ र २ मा चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माणमा अवरोध गरेपछि सांसद कर्णसहितको टोलीले मन्त्री नेम्वाङलाई भेट गरेको थियो ।
प्रतिनिधिमण्डलका सदस्य सन्तोष श्रेष्ठका अनुसार प्रधानमन्त्रीले समेत हुलाकी सडक निर्माणमा आएको समस्याबारे चासो राखेको र यसबारे बुझ्न आफूलाई भनेको मन्त्री नेम्वाङले बताउनुभयो ।
उहाँले हुलाकी सडक निर्माणमा देखा परेको समस्या समाधानबारे भोलि वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,  हुलाकी सडक विभाग लगायतका प्रमुखसँग छलफल राखिएको जानकारी दिनुभयो ।
सङ्घर्ष समितिले बिहीबार वनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर रोकिएको सडक निर्माण कार्य अघि बढाउने वातावरण बनाइदिन आग्रह गरेको थियो । सडक बनाउन निकुञ्जले रोकेको भन्दै सडक निर्माणको जिम्मा पाएको कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले अधुरै सडक हस्तान्तरण गरेपछि ठोरीका बासिन्दाले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button