तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ८ महिनामा १९ करोडभन्दा बढी राजश्व सङ्कलन 

जुम्ला । जुम्लामा चालु आर्थिक वर्षको ८ महिनामा उत्साहजनक राजश्व सङ्कलन भएको छ ।
कोभिड त्रासका बीच पनि चालु आवको फागुन महिना सम्मको राजश्व सङ्कलन उत्साहजनक भएको हो ।
जुम्लामा चालु आवको ८ महिनामा १९ करोड करोड ५८ लाख ३७ हजार २ सय ५२ रुपैयाँ राजश्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार चालु आवको ८ महिनामा १३ करोड ७५ लाख ७५ हजार राजश्व सङ्कलन हुने लक्ष्य राखिएकोमा ६ करोड ८ लाखले बढेर साढे १९ करोड लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको हो ।
कर अधिकृत बस्नेतले भन्नुभयो,“चालु आवमा जुम्लामा २५ करोड ६० लाख १० हजार बराबर राजश्व सङ्कलन गर्ने लक्ष्य छ  । तर फागुन मसान्तसम्म मात्रैको राजश्व सङ्कलन गर्दा जेठ सम्मको लक्ष्यको तुलनामा पुगेको छ ।”
जुम्लामा आन्तरिक राजश्व कार्यालयको स्थापनापछि  करदाता शिक्षाको विस्तार तथा नियमन गरेकै कारण राजश्व सङ्कलन उत्साहजनक रुपमा भएको कर अधिकृत बस्नेतले उल्लेख गर्नुभयो ।
विगतका भन्दा व्यवसायी उद्योगीहरू करको दायरामा आउने क्रममा पनि बढेको छ । हाल व्यक्तिगत प्यान, व्यवसायीक प्यान र डब्लु प्यान लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ ।
आन्तरिक राजश्व कार्यालय स्थापना भएको दुई वर्षमै सेवासँगै करदाता शिक्षा तथा नियमन र अनुसन्धानमा जोड दिएकोले राजश्व सङ्कलनले गति लिएको देखिन्छ ।
हालसम्म जुम्लाका ९ हजार १ सय ७० जनाले व्यवसायीक प्यान लिएका छन् । जसमध्ये ११ सय ४१ जना व्यवसायी मात्रै भ्याटमा दर्ता भएका छन् । ७ हजार ५ सय २५ जनाले हालसम्म व्यक्तिगत प्यान लिएको तथ्याङ्कले देखाएको छ ।
कुन शीर्षकमा कति कर सङ्कलन  ?
आन्तरिक राजश्व कार्यालय जुम्लाले विभिन्न २५ वटा शीर्षकमा कर सङ्कलन गरेको छ ।
कर्णालीका जुम्ला, मुगु र कालिकोट कार्यक्षेत्र रहेको राजश्व कार्यालयले चालु आवको ८ महिनामा कोभिडका बाबजुद पनि साढे १९ करोड राजश्व सङ्कलन गर्नुले कर्णालीमा आर्थिक गतिविधि विगतको तुलनामा बढेको स्पष्ट छ ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी परामर्श तथा ठेक्का तर्फको मुल्यअभिबृद्धि कर ६ करोड ४९ लाख ३५ हजार ७ सय रुपैयाँ राजश्व उठेको छ ।
पारिश्रमिक करतर्फ ४ करोड १७ लाख ३२ हजार २ सय, एकलौटी फर्म तथा व्यक्तिगत आयकर तर्फ ३ करोड ५७ लाख १६ हजार ७ सय,सामाजिक सुरक्षातर्फ १ करोड ६७ ३९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यस्तै, पुँजीगत लाभकरतर्फ ३५ लाख ३४ हजार ३ सय, प्राइभेट लिमिटेड तर्फको मुनाफा कर तर्फ २६ लाख ६० हजार ४ सय, सम्पत्ति, बहाल तथा पट्टा कर तर्फ ३५ लाख १ हजार,ब्याजमा लाग्ने कर तर्फ २६ लाख ४४ हजार २ सय र अन्तःशुल्क मदिरातर्फ ४३ लाख ५६ हजार ८ सय गरी विभिन्न २५ शीर्षकबाट साढे १९ करोड बढी राजश्व कोभिडकै बीच सङ्कलन भएको छ ।
अझै व्यवसायी तथा आम नागरिक नागरिकलाई करको दायरामा ल्याउन गाउँ गाउँमा करदाता शिक्षा सञ्चालनको तयारीमा रहेको कर अधिकृत युवराज बस्नेतले जानकारी दिनुभयो ।
आन्तरिक राजश्व कार्यालयले कर छलेको,कर नदिएको, आम्दानी लुकाएको सूचना दिँदा पनि कर तिर्न ढिलासुस्ती गरेको सबै कुरा अनलाइनबाटै अनुसन्धान गरी फर्म तथा व्यवसायलाई ब्लक गर्न मिल्ने व्यवस्था भएकोले पनि राजश्व सङ्कलन उल्लेखनीय रुपमा वृद्धि भएको कर अधिकृत बस्नेतको भनाई छ ।
करदाता शिक्षासँगै नियमनलाई पनि कडाइका साथ अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button