रामारोशन गाउँपालिकाद्वारा पानी तान्ने मेशिनहरू वितरण
अछाम । अछामको रामारोशन गाउँपालिकाले पम्प सेटबाट पानी तान्ने प्रविधिका मेशिनहरू वितरण गरेको छ ।
गत भदौ २ गते राति आएको अविरल वर्षाका कारण कैलाश खोलामा आएको बाढीले तहसनहस भएका सिँचाई कुलो बनाउन नसक्ने अवस्था भएका किसानका खेतमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले पानि तान्ने मेशिनहरू वितरण गरिएको हो ।
गाउँपालिकाको २० लाख लगानीमा ७ ओटै वडाका किसानहरूलाई सिँचाई गर्न सहज होस भन्ने उद्देश्यका साथ मेशिन उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउदले जानकारी दिनुभयो ।
बाढीले तहसनहस भएका सिँचाई कुलोहरू किसानहरूले तत्काल बनाउन नसक्ने भएकाले कैलाश खोला आसपासका खेतहरूमा बीउ राख्ने समय भइसकेकोले किसानको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले मेशिनहरू उपलब्ध गराएको वडा नम्बर ३ शान्तडाका वडा अध्यक्ष तारा बहादुर साउदले बताउनुभयो ।
शान्तडाका वडा अध्यक्ष साउद सहित सबै वडाका वडा अध्यक्षहरूको सहभागितामा सम्बन्धित स्थानका किसानहरूलाई मुजाबगरमा मेशिनहरू हस्तान्तरण गरी वडा नम्बर ५ रामारोशनको रसुबे र शान्तडामा मेशिनको सफल परिक्षण गरिएको र किसानहरूका खेतमा पानीको समस्या समाधान भएको वडा अध्यक्ष साउदले जानकारी दिनुभयो ।
पालिकाले आफूहरूका समस्याहरू लाई मध्यनजर गर्दै पानी तान्ने मेशिनहरू उपलब्ध गराएपछि समयमै बिउँ ब्याड राखेर धान लगाउन सहज भएपछि किसानहरू हर्षित भएका छन् । पछिल्लो समय रामारोशन गाउँपालिकाले बाढीले पुगाएको क्षतिको समस्या समाधानका लागि अन्य विभिन्न कार्यहरू गरिरहेको छ ।
तहसनहस भएको सडकको पालिका अध्यक्ष साउद सहितको सक्रियतामा सञ्चालनमा आएर यातायातका साधनहरू सहज रुपमा सञ्चालन भइरहेका छन् भने किसानहरू लाई राहत उपलब्ध गराएको छ ।
पालिकाले बाढीबाट तहस नहस भएका कैलाश खोला आसपासका क्षेत्रमा पुगाएको क्षति लाई पुरानै अवस्थामा फर्काउनका लागी निरन्तर पहल गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्