तपाईँ सुन्दै हुनुहुन्छः

जनगणनाका लागि तनहुँमा पुरुषभन्दा महिलाको दुई गुणा बढी निवेदन

तनहुँ । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय तनहुँका अनुसार जिल्लामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा २ हजार ३४६ जनामध्ये १ हजार ६२५ महिला छन् ।
कार्यालयका प्रमुख नन्दलाल सापकोटाले ७ सय १९ पुरुष, अन्य लिङ्गी २ र महिला १ हजार ६ सय २५ गरी २ सय ३ सय ४६ जनाको निवेदन आएको जानकारी दिनुभयो । उहाँले मागिएका कर्मचारी भन्दा करिब चार गुणाले जिल्लामा आवेदन फारम भरेको बताउनुभयो ।
जिल्लामा सुपरिवेक्षकका लागि १ सय र गणकका लागि ५ सय जना कर्मचारी करारमा चाहिएको प्रमुख सापकोटाले बताउनुभयो । सो सङ्ख्यामा केही सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।
योग्यता क्षमता भएका तर पारिवारिक कारणले बाहिर गएर जागिर खान समस्या भएका महिलाले निवेदन दिएका कारण महिलाको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।
गणना क्षेत्रमा १८०–२२० घर सङ्ख्या रहनेछन् । जसमा १ जना गणक खटिनेछन् ।
छनोटमा परेका सुपरिवेक्षकले पहिलो चरणको कार्यक्रमअन्तर्गत घर तथा परिवारको सूचीकरण आगामी वैशाख २६ देखि जेठ १४ गतेसम्म प्रत्येकका घरघर पुगेर गर्ने र त्यसकै आधारमा गणकले परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण, बैङ्किङ पहुँचको विवरण सङ्कलन गर्नेछन् ।
नेपालभर जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको थियो ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ । सुपरिवेक्षकले २०७८ वैशाख १३ गते दुई महिनाका लागि र गणकले जेठ १० गते एक महिनाका लागि नियुक्ति पाउनेछन् । नियुक्ति पश्चात् सुपरिवेक्षकले तालिम लिएर वैशाख २६ देखि जेठ १४ गतेसम्म २० दिनको अवधिमा घर तथा घरपरिवारको सूचीकरण गर्ने र सो सूचीकरणका आधारमा गणकबाट जेठ २५ देखि असार ८ गतेसम्म १५ दिनको अवधिमा मूल गणनाको काम हुनेछ ।
जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ ।
जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ ।
त्यस्तै वडा स्तरीय जनगणना सहजीकरण समिति रहने छ । यो समितिको संयोजकमा सम्बन्धित वडाका वडा अध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्षले तोकेको वडा सदस्य, वडा अध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।
यस पटक मानिसको जनगणनाको अलावा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना भएको छ ।
गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने सापकोटाले बताउनुभयो । अघिल्लो जनगणनामा भन्दा यस पटक ८ वटा बढी आधारभूत प्रश्नहरू राखिएको उहाँको भनाई छ ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.स. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button