शुक्लागण्डकी मेयर कपको उपाधि बागलुङको गलकोट नगरपालिकालाई
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कप पुरुष भलिबल प्रतियोगितामा बाग्लुङ्गको गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भएको छ ।
आयोजक शुक्लागण्डकी नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बनेको गलकोट नगरपालिकाले उपाधि सहित ट्रफी र नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । यस्तै आयोजक शुक्लागण्डकी नगरपालिकाले ट्रफी सहित १ लाख रुपैयाँ र तृतीय भएको कास्कीको मादी गाउँपालिकाले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा तनहुँकै घिरिङ गाउँपालिका सान्त्वना हुन सफल भयो । मादी गाउँपालिकासँग पराजित भएको घिरिङले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छ ।
गत १३ गते देखि नगरपालिकाको वडा न ८ मा निर्माणका लागि प्रस्ताव गरिएको रङ्गशालामा भएको खेलमा तनहुँसँगै कास्की, स्याङ्जा, नवलपुर र बागलुङ गरी ४ जिल्लाका १५ समूहको सहभागिता थियो ।
प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका खेलाडीहरूलाई पुरस्कार वितरण गर्न उपस्थित भएका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेल क्षेत्रप्रतिको बुझाई जनस्तरमा सकारात्मक बन्न थालेको बताउनुभयो ।
मन्त्री गुरुङले खेल क्षेत्रमा लागेका खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने गरी प्रदेश सरकार लागि परेको भन्दै अव खेल क्षेत्रले गति लिने दाबी गर्नुभयो । आफ्नो गृह जिल्ला समेत रहेको तनहुँमा खेलकुद क्षेत्रको विकास र विस्तार गर्न आफु सकारात्मक रहेको भन्दै ढोरफिर्दीमा बन्न लागेको नगरपालिकाको प्रस्तावित रङ्गशालाका लागि प्रदेश सरकारले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बागलुङका विमल उत्कृष्ट खेलाडी घोषित
मेयर कप भलिबल प्रतियोगितामा बागलुङ गलकोटका विमल परियार उत्कृष्ट खेलाडी घोषित हुनुभयो । परियारले उत्कृष्ट खेलाडीको सम्मान सहित नगद १७ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । उहाँलाई नगरपालिकाले विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई उपलब्ध गराएको १० हजार, पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँका तर्फबाट ५ हजार १ सय र स्थानीयबाट २ हजार रुपैयाँ गरी उक्त राशिको पुरस्कार सहित सम्मान गरिएको थियो ।
यस्तै मादि गाउँपालिका कास्कीका सफल विक उत्कृष्ट स्पाइकर, शुक्लागण्डकी नगरपालिकाका प्रदीप गुरुङ उदयमान खेलाडी, गलकोट नगरपालिका बागलुङका मीन सुनार उत्कृष्ट सेटर, गलकोटकै प्रकाश सुनार उत्कृष्ट सर्भर, शुक्लागण्डकीका मीनबहादुर कुमाल वेस्ट ब्लकर, गलकोटका रिजन राना वेस्ट डिफेन्डर घोषित भए । विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई नगरपालिकाको तर्फबाट मेयर किसान गुरुङले जनही ५–५ हजार नगद सहित सम्मान गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्