मध्य पहाडी लोकमार्गः पर्वतखण्ड बिस्तार द्रुत गतिमा
पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो ।
गएको भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा कामलाई अघि बढाएको हो ।
जिल्लाको २४ किलोमिटर खण्डमध्ये कुश्माबजार भित्र र पातीचौर बजार क्षेत्रमा ४ लेनको सडक विस्तार हुँदैछ भने अन्य स्थानमा दुई लेनमा सडक विस्तार गरिने भएको हो । कुस्मास्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पाती खोलादेखि कुस्मा ७ चुवाको परादीसम्म कालोपत्रेको काम सकिएको छ । कुश्मामा विद्युतका पोल हटाएर बिच खण्डमा माटो भर्ने काम भइरहेको छ । पातीचौरमा कालोपत्रे गर्न सबै स्टक्चर तयार भैसकेको छ ।
सडक चौडा पार्ने, नाली बनाउने लगायत पूर्वाधारका काम सबै सकिएकोले अब बेस हालेर कालोपत्रे गर्न धेरै समय नलाग्ने मरासिनीले बताउनुभयो । कुश्माबजारको खरेया देखि डम्डारेखोला सम्म चार लेनको सडक बनाउन विद्युतका पोल, खानेपानीको पाइप र केही घर टहरा हटाउँदा काममा ढिलो भएको थियो । सडक बिस्तारमा अवरोध रहेका सबै संरचना हटाएपछि कुश्मामा सबैजसो कामदार परिचालन भएका छन् ।
चुवा, कुश्माको बान्द्रेबिंडी र मोदीको केही भागमा भीरको पहरो फुटाएर सडक चौडा बनाइएको छ । लामा कन्स्ट्रक्सनका प्रतिनिधि राजाराम आचार्यले आउँदो जेठभित्रै पर्वतखण्ड सकिने दाबी गर्नुभयो । अहिले १८० भन्दा धेरै कामदारले काम गरिरहेका र सडक चौडा, नाली, मेसिनरी वाल, ग्याविन लगायतको सबै काम सकिएकोले कालोपत्रे मात्रैका लागि धेरै समय नलाग्ने उहाँले बताउनुभयो । २०७५ वैशाखदेखि शुरु भएको पर्वत खण्ड बिस्तारको काम गएको भदौमा सकिनुपर्ने हो ।
कोभिडका कारण भएको लकडाउनले रोकिएपछि आयोजना कार्यालयले ९ महिना समय थप गरेको छ । कुनै अवरोध र समस्या नआई काम हुने भने तोकिएको समयमै पोखरा देखि बागलुङ सम्मको खण्ड नयाँ स्वरूपमा बदलिने छ । मध्य पहाडीको कास्की खण्डको नयाँ पुल देखि घट्टेखोला सम्मको खण्डको काम सकिएको छ । हेम्जा देखि सिम्पानी सम्मको खण्ड सकिएमा कास्की खण्डको काम पुरा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्