राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु
पर्वत । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्म गाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलो पटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
अध्यक्ष तिमिल्सिनाले प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले खेलकुदको विकासमा राज्यको लगानी बढ्नुपर्ने बताउनुभयो । उहाँले खेल मानव स्वास्थ्यका लागि मात्रै नभएर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आजबाट शुरु भएको प्रतियोगिता चैत्र १७ गतेसम्म सञ्चालन हुने छ । गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ५ जिल्लाका ५ वटा समूह सहभागी भएका छन् ।
खेलमा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरणबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा रत्यौली प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले २० हजार पुरस्कार पाउने भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्