सप्तरी प्रिमियर लिग : रुपनी राईडर्सद्वारा टिभीएस किंग्स राजविराज ६ विकेटले पराजित

सप्तरी। सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत आज (बिहिबार) सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ ।राजविराजको राज रंगशालामा सम्पन्न खेलमा टिभीएस किंग्स राजविराजले दिएको १६२ रनको लक्ष्य रुपनी राईडर्सले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो ।
रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले ३३ बलमा ६ चौका र २ छक्काको मद्तले सर्वाधिक ५२ रन बनाए । यस्तै अमित यादवले ३१ बलमा ५ चौका र २ छक्का मद्दतले ४५ रन तथा लोकेश बमले १२ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाए ।
टिभीएस किंग्सको बलिंगमा रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले समान १/१ विकेट लिए लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग रोजेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।
जसमा टिभीएस किंग्सको लागि ओपनर सोनु अन्सारीले ४० बलमा ८ चौकाको मद्तले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३ रन, आसिफ शेखले १६ रन तथा रोबिन सिंह र सुदर्शन सिंहले समान १२ रन बनाए ।
रुपनी राईडर्सको बलिंगमा लोकेश बमले सर्वाधिक २ विकेट लिए । यस्तै फिर्दोश अन्सारी, सुनिल धमला, सुमित झा, अनिल यादव र अनुज कुमार यादवले समान १ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम चुनिए ।जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको रुपनी राईडर्स अंकतालिकामा ६ अंक सहित शिर्षस्थानमा उक्लेको छ । १ खेल खेल्न बाँकी रहेको बजाज खडक वारियार्स र तिलाठी कोईलाडी जायन्टसको समान ४ अंक रहेको छ । हार पछि टिभीएस किंग्स राजविराज ३ खेलमा १ जित र २ हार बेहोर्दै २ अंक सहित चौथो स्थानमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्