प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई
काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जित्नुभएको छ ।
उहाँले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेन्डमा पूरा गर्दै दोस्रो हुनुभयो भने सेनाका सुबेदार होमलाल श्रेष्ठ निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेन्डमा पूरा गरी तृतीय हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गर्नुभयो ।
उहाँहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गर्नुभयो । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कार स्वरूप प्राप्त गर्नुभयो । पुरस्कारको प्रायोजन मेगा बैङ्कले गरेको हो ।
यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो, सेनाकै राजन रोकाय दोस्रो तथा सेनाका नरेन्द्र रावल तेस्रो हुनुभयो । यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले जित्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्