तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडितलाई सरकारले तत्काल ५० र ३० हजारका दरले नगद सहयोग गर्ने

ताप्लेजुङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अग्नि पीडितलाई पुनर्निर्माण सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

आज आगलागी स्थल दोभानको अवलोकनमा आउनु भएका मुख्यमन्त्री राईले पीडितलाई पुनर्निर्माण र सहुलियत ऋण दिने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री राईले तीनै तहका सरकार नै आगलागी पीडितको समस्यामा गम्भीर रहेको बताउनु हुँदै तत्कालका लागि प्रत्येक परिवारलाई ५० हजार र डेरावालालाई ३० हजारका  दरले नगद सहयोग गर्ने पनि बताउनुभयो ।

मुख्यमन्त्री राईले आगलागी पीडितलाई दैनिक उपभोग्य बस्तु, टेन्ट, कम्मलसहितका सामाग्री  समेत वितरण गर्नु भएको थियो ।  मुख्यमन्त्रीसंगै आउनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पीडितको पुनर्स्थापना प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

ताप्लेजुङको मिरिङदेन गाउँपालिका–३ दोभान बजारमा सोमबार बिहान आगलागी हुँदा  ४० करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरको क्षति भएको गाउँपालिका अध्यक्ष गणेश लिम्बुले जानकारी दिनुभयो । आगलागीबाट ५० घर जल्दा ६३ परिवार विस्थापित बनेका छन् । आगलागीबाट १ करोड ६० लाख रुपैयाँ नगदै जलेको अध्यक्ष लिम्बुले बताउनुभयो  ।

विस्थापित हुनेमा १ सय ५६ जना पुरुष र १ सय ६८ जना महिला गरी ३ सय २४ जना छन् । सरकारी कार्यालयहरूको क्षति मात्रै १ करोड २२ लाख ५० हजार रुपैयाँ बराबर रहेको विवरणमा उल्लेख छ । गाउँपालिका, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, ग्लोबल आइएमई बैङ्क र दोभान मनी ट्रान्स्फरमा पनि क्षति पुगेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

यता गाउँपालिकाले मुख्यमन्त्री राईसँग घर पुनर्निर्माण गरी व्यवस्थित बस्ती विकास गरिदिन, घर निर्माण तथा व्यवसाय सञ्चालनका लागि सहुलियत पूर्ण ब्याजमा उचित ऋणको व्यवस्थापन गरिदिन, व्यवसायीहरूको कर समायोजन, स्टक मिनाहा, बिमा तथा उचित क्षतिपूर्तिको व्यवस्था गरी दिन साथै फुङलिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मिरिङदेन गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र दोभान बजारको बजारीकरण विस्तारको लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button