विकासका लागि वर्तमान सरकार उदाहरणीय : मन्त्री पौडेल

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नेतृत्वको सरकार गिराएर प्रतिपक्षी दलको ढोकामा प्रधानमन्त्रीको प्रस्ताव लैजानेहरूलाई जनताले परास्त गर्ने बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदैै अर्थमन्त्री पौडेलले मध्यरातमा प्रतिपक्षी दलको ढोका चहार्न जाने, नेपालको कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन अँध्यारो कोठामा बसेर योजना बनाउनेलाई पार्टी कार्यकर्ता र नेपाली नागरिकले राम्रोसँग चिनेको बताउनुभयो ।
उहाँले संवैधानिक कानुनी दायरा विपरीत कम्युनिष्ट पार्टी कमजोर बनाउनेलाई नेपाली जनताले माफ नदिने बताउनुहुँदै नेपाली जनताले स्थिरता, शान्ति र विकास चाहेको धारणा व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले विखण्डनको बाटो समातेका डा. सिके राउत तथा विद्रोहको बाटो समातेका नेत्रविक्रम चन्द विप्लवलाई शान्तिपूर्ण संवैधानिक राजनीतिको मूल धारमा ल्याएको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता र विकासका विषयमा प्रष्ट धारणा राखेकाले नेपालीले माया गरिरहेको बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो , राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा अभूतपूर्व सफलता पाएका छौँ, कोरोना महामारी विरुद्धको अभियान र निःशुल्क खोपका लागि गरेको पहलकदमीलाई अर्को उपलब्धि मानेका छौँ । मन्त्री पौडेलले विकासका लागि वर्तमान सरकार उदाहरणीय बनेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्