तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम बस्ती जोड्ने सडक निर्माण भएपछि बाजागाजासहित खुशीयाली

बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक निर्माणले पूर्णता पाएको थियो ।

सडकको ट्र्याक निर्माण भएर नियमितरूपमा सवारी वारपार गर्न थालेसँगै सोमबार समारोह आयोजना गरी बाजागाजासहित सडकको उद्घाटन गरिएको हो । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । विकट बस्ती दर्मिजा, चिमखोला कुइनेमङ्गले सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका छन् ।

सोमबार गाउँपालिकाको वडा नं ४ दर्मिजामा बाजागाजा र नाचगानसहित सडकको उद्घाटन गरिएको हो । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती दर्मिजा, चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले यातायातको सुविधा लिन पाएका छन् । वडा नं ४ दर्मिजाका ९६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर गर्बुजा, वडा नं ८ कुइनेमङ्गलकी ९३ वर्षीया उडिमा कमिनी र वडा नं ७ चिमखोलाकी १० वर्षीया बालिका लिस्मा पुनले सडकको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “प्रभावित तीनवटै वडाबाट यस वर्ष गौरवको योजना यसै योजनामा परिचालन भयो, गाउँपालिकाको पहलमा दुई जलविद्युत् आयोजनाले समेत साझेदारी गरेपछि अन्ततः सडकको ट्र्याक निर्माणले पूर्णता पायो, आगामी दिनमा सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउनतर्फ हाम्रो पहलकदमी रहनेछ”, अध्यक्ष भण्डारीले भन्नुभयो ।

आर्थिक वर्ष २०७४÷७५ देखि हालसम्म यस सडकखण्डमा रु १७ करोडभन्दा बढी बजेट खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट यस सडकखण्डमा कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको जानकारी दिनुभयो । त्यसमध्ये गाउँपालिबाट रु तीन करोड ६२ लाख ६० हजार ७५६, प्रदेश सरकारबाट रु २१ लाख ५४ हजार ४६६ र सङ्घीय सरकारमार्फत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु २१ लाख ५७ हजार ४६५ खर्च भएको छ भने गाउँपालिका अध्यक्ष भण्डारीले समेत व्यक्तिगतरूपमा रु १० लाख परिचालन गर्नुभएको छ ।

यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत् निर्माण शुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा रु दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम गरेको पाइएको छ ।

मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्वय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडी आएको देख्दा आफूलाई निकै खुशी लागेको बताउनुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाले सडक निर्माणले जनतालाई राहत मिलेको बताउँदै सडकलाई नियमित सञ्चालन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button