सुनसरीको दुहबीमा फोहोर मैला प्रशोधन प्लान्ट बन्ने

सुनसरी । औद्योगिक र व्यापारिक ‘हब’ बन्दै गएको सुनसरीको दुहबी नगरपालिका – ४ मा डेढ करोड लागतमा फोहोर मैला प्रशोधन प्लान्ट बन्ने भएको छ ।
फोहोर मैलालाई स्रोतमा न्यूनीकरण, पुनः प्रशोधन, प्रयोग, विसर्जन गरी नगरपालिका क्षेत्रभित्र फोहर मैलाको उचित र प्रभावकारी व्यवस्थापन गर्न तथा जनस्वास्थ्य एवं वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गरी स्वच्छ र स्वस्थ वातावरण कायम गर्न दुहबी नगरपालिका क्षेत्रमा सो प्रशोधन प्लान्ट बन्ने नगरप्रमुख वेद गच्छदारले बताउनुभयो ।
दुहबी नगरपालिका प्रमुख वेद गच्छदार र नेपाल सरकार बन तथा वातावरण विभाग बबरमहल काठमाडौँका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले दुई पक्षीय सम्झौता पत्रमा साझा हस्ताक्षर गरेको दुहबी नगरपालिका प्रमुख गच्छदारले बताउनुभयो ।
दैनिक १३ देखि १९ टनसम्म फोहोर सङ्कलन गरेर त्यसको प्रशोधन गर्ने लक्ष्यसहित लामो समय देखिको प्रयासमा यस क्षेत्रको फोहोरलाई मोहर बनाउने सपना देखेका नगरप्रमुख गच्छदारले बताउनुभयो ।
उहाँले सोही योजना अनुसार सङ्कलित फोहोरबाट अर्ग्यानिक मल र अन्य उपयोग जन्य सामग्री तयार गरी स्थानीय समुदायलाई रोजगार साथै कृषकलाई मल उत्पादनमा आत्म निर्भरता कायम राख्ने लक्ष्य रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्