तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक महिलाको कैद सजाय माफी 

अछाम  । अछाममा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक जनालाई कैद माफी गरिएको छ ।
बाजुरा गौमुल गाउँपालिका वडा नम्बर २ घर भई जिल्ला कारागार अछाममा कैद सजाय भोगिरहेकी करिब २८ बर्षीया कल्पना कुमारी बमलाई कैद मिनाह गरिएको हो ।
५ बर्ष कैद सजाय फैसला भई जेल जीवन बिताइरहेकी बमले २ बर्ष १० महिना ४ दिन कैद भुक्तान गरिसकेको र बाँकी कैद माफी भएको जिल्ला कारागार अछामका सूचना अधिकारी प्रमोद बाघले जनाकारी दिनुभयो ।
कर्तव्य ज्यान र गर्भपतन मुद्दामा जेल सजाय पाउनुभएकी बमको बाँकी रहेको २ बर्ष १ महिना २६ दिन कैद सजाय मिनाह भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा असल चालचलन भएका र आधा कैद सजाय भोगिसकेकालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद सजाय माफी भएको सूचना अधिकारी बाघले जानकारी दिनुभयो ।
दिवसको अवसरमा सरकारले ५ सय बढी कैदी बन्दीको कैद सजाय माफी दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैदी बन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिनुभएको हो ।
सरकारले ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिइएको छ भने हालसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका एक सय ७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button