एपीएफद्वारा पुलिस क्लब पराजित
काठमाडौँ । राष्ट्रिय महिला लिगमा उपाधिको प्रमुख दाबेदार टिम एपीएफले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि यात्रा निकै मजबुत बनाएको छ । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले नेपाल पुलिसलाई दुई एक गोलले हरायो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा रविना गोलेले निर्णायक गोल गर्दा एपीएफले कठिन जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८ औँ मिनेटमा एपीएफले अग्रता बनाएको थियो । एपीएफको आक्रमणलाई क्लियर गर्ने क्रममा पुलिसकी कप्तानको खुट्टामा बल ठोकिएर आफ्नै पोस्टमा गोल हुन पुग्यो ।
तर ७५ औँ मिनेटमा पुलिसले खेल बराबरी गर्न सफल भयो । उसका लागि अम्बिका जैशीले उत्कृष्ट गोल गर्न सफल हुनुभयो । ८५ औँ मिनेटमा एपीएफले फेरी खेलमा अग्रता बनायो । उसका लागि रविना गोलेले गोल गर्नुभयो ।
एपीएफको १० खेलमा ३० अङ्क भएको छ । जसका कारण दोस्रो स्थानका आर्मीसँगको दुरी पाँच अं कमा पुर्याएको छ । यता पुलिसले १० खेलमा १४ अङ्क बनाउँदै लिगको चौथो स्थानमा यथावत् छ ।
अर्को खेलमा वालिङ नगरपालिका विराटनगर महानगरपालिकासँग एक शून्यले पराजित भयो ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पाँचौँ जित निकाल्ने क्रममा विराटनगरका लागि भारतीय खेलाडी आशा कुमारीले एक मात्र गोल गर्नुभयो । यो हारपछि वालिङ लिगको चौथो स्थानमा झरेको छ भने विराटनगर १६ अं कका साथ तेस्रो स्थानमा उक्लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्