पूर्वी नाका काँकडभिट्टा खुलेसँगै आवतजावत सहज

झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ ।
नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।
नाकाबाट ठुला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदल यात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानी ट्याङ्की, नक्सलबाडी, सिलगढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले अझै पनि कोरोना महामारीको जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताउनुभयो ।
उहाँले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, असशक्तहरुलाई पालो मिलाएर सिटी रिक्सामा पठाउने गरिएको स्वीकार गर्नुभयो । “मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ”, उहाँले भन्नुभयो, “तर अन्यको हकमा भने पुरानै अवस्था छ । खुकुलो बनाइएको छैन ।’’ उहाँले नेपालका अन्य सीमा नाका खुले पनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताउनुभयो ।
भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिनुभयो ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत्र ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरू बन्द गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्