सहिदको सपना पुरा गर्न लोकतन्त्र स्थिर राख्नुपर्छ : पूर्वमन्त्री डा महत

तनहुँ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थिर विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाद्वारा शहीद दिवसको अवसरमा आज व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उहाँले लोकतन्त्रको दिगो ढङ्गले विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
“लोकतन्त्रको विकासका लागि शहीदले ठूलो योगदान दिएका छन्, ज्यानको आहूति दिएका छन् । शहीदलाई सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि राजनीतिक, सामाजिक, आर्थिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।” राजनीतिक विकासको साथसाथै आर्थिक समुन्नतिको आवश्यक रहेकाले त्यसतर्फ सबैको ध्यान हुनुपर्नेमा पूर्वमन्त्री समेत रहेका डा महतले जोड दिनुभयो ।
खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई खेलको माध्यमबाट जोड्न नगरपालिकाले तीन वर्ष अगाडिदेखि म्याराथन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “मानुङ आज विश्वमाझ परिचित हुन सफल भएको छ, यसको देन म्याराथन पनि हो ।”
चौवालीस किमी दूरीको अल्ट्रा म्याराथनमा १८० धावक सहभागी छन् । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौँ, धादिङ, म्याग्दीलगायतका जिल्लाबाट धावक सहभागी रहेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्धितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।
धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकबिन्दु स्थापना गरिएको छ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकबिन्दु स्थापना गरिएको छ ।
म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्धितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्