तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा आधा पनि बिक्री भएन सुन्तला 

सल्यान । मध्य माघ पुगी सक्दा पनि पहेलपुर भएका सुन्तलाले बजार नपाएपछि सल्यानका किसान निराश भएका छन् । विगतका वर्षहरूमा पुसको अन्तिम सातासम्म बिक्री भइसक्ने सुन्तला यो वर्ष भने आधा पनि किसानले बिक्री गर्न सकेका छैनन् ।
यस वर्ष सुन्तलाको आकार सानु हुनु, ढिलो पाक्नु तथा स्थानीय व्यापारीको सिन्डिकेटका कारण समयमै सुन्तला बजारमा पुग्न नसकेको किसानहरूको भनाई छ ।
कोरोनाका कारण जिल्ला बाहिरबाट थोक व्यापारी नआउँदा पाकेको सुन्तला बारीमा रहेको बागचौर नगरपालिका ९ का किसान अंगेश्वर डाँगीले बताउनुभयो ।
यो वर्ष सुन्तलाको आकार निकै सानो हुँदा पनि सुन्तला किन्न व्यापारी अग्रसर भएको अर्का किसान काली बहादुर चन्दले बताउनु भयो । उहाँले भन्नुभयो गत साल बारीमा उत्पादित सुन्तला बिक्री भइसकेको हुन्थ्यो । तर यस वर्ष भने आधा भन्दा बढी सुन्तला बारीमै छन् ।
गत मङ्सिर पुस महिना बिक्री भइसक्ने सुन्तला यो वर्ष भने आधा पनि बिक्री नभएको अर्का किसान चन्द्र बहादुर डाँगीले बताउनुभयो । सुन्तलालाई आवश्यक परेको समयमा बजारमा मलखाद नपाएको र पानीको आवश्यक परेको समयमा पानी नपर्दा सुन्तला निकै सानो हुँदा पनि व्यापारी किन्न नआएको हुन सक्ने उहाँको भनाई छ । गत वर्ष ३० क्विन्टल बिक्री गरेका डाँगीले यस वर्ष मुस्किलले १० क्विन्टल हुने अनुमान गरेको बताउनुभयो ।
जलवायु परिवर्तन, हिउँदे वर्षा नहुनु, सिट्रेससिल्ला रोगको प्रकोपका कारण सुन्तलाको उत्पादन घट्नुका साथै बजारीकरण नभएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
गत वर्ष जिल्लाबाट ५ हजार ३ सय ४४ मेट्रिक टन सुन्तला निर्यात भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जसबाट जिल्लामा २७ करोड भित्रिएको थियो । यस वर्ष गत वर्षको तुलनामा ३० प्रतिशत अर्थात् ३ हजार ७ सय ४१ मेट्रिक टन मात्र सुन्तला निकासी हुने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो ।
जिल्लामा १ हजार ५ सय २० हेक्टर क्षेत्रफल सुन्तला खेती हुँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button