दुर्गमका सुत्केरी महिलालाई स्तनपान शिक्षा

जुम्ला । गाउँघरका गर्भवती तथा सुत्केरी महिला, महिला स्वास्थ्य स्वयंसेवीका, र धामी झाक्रीहरुबीच स्तनपान सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिएको छ ।
मातृ शिशु मृत्युदर घटाउने सरकारको लक्ष्य सफल पार्न तथा आमा बच्चाको स्वास्थ्य सुरक्षा गर्न र जन्मिसकेको बच्चालाई शारीरिक मानसिक सन्तुलित र पोसिलो राख्न स्तनपान शिक्षाबारे अन्तरक्रिया गरिएको किर्डाक नेपालकी सामाजिक परिचालक सरु महतले बताउनुभयो । उहाँले भन्नुभयो,“गाउँ घरमा बच्चा जन्मिने बित्तिकै पहेँलो बिगौती दूध खुवाउनु हुदैन् । सुत्केरीले सागपात खानु हुदैन्, भन्ने गलत मानसिकता छ । जसले गर्दा आमा तथा बच्चाको स्वास्थ्यमा असर पर्छ । त्यसैले पनि स्तनपान बारे जनचेतना फैलाउन आवश्यक छ ।”
अन्तरक्रिया कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविका पुम्फा भण्डारीले विगतको भन्दा गाउँमा पोषण, स्तनपान बारे महिला शिक्षित भएको बताउनुभयो ।
उहाँका अनुसार गाउँघरका अधिकांश महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् भने महिनाको एक चोटि नियमित गर्भ जाँच गराउन, पोसिलो खानेकुरा खान, आराम गर्न भनेर घरघरमा पुगेर सिकाउने गरेको उहाँको भनाई छ ।
कार्यक्रममा एक जना महिलाले शिक्षाको अभावमा विगतमा गर्भावस्थामा माटो खाने, तमाखु खाने, हरिया सागपात नखाने गर्यौ । तर अहिले विभिन्न जनचेतनामूलक कार्यक्रमले गर्दा सचेत भएको उल्लेख गर्नुभयो ।
किर्डाक नेपाल जुम्लाले वल्र्ड भिजनसँगको सहकार्यमा चन्दननाथ नगरपालिकाका सुत्केरी महिला, महिला स्वास्थ्य स्वयम सेविका, धामी झाँक्री, बाल क्लबका अध्यक्षहरूसहित ३० जनालाई स्तनपान शिक्षा दिइएको छ ।
जिल्लाका आठै स्थानीय तहमा पुगेर सुत्केरी महिलालाई स्तनपान शिक्षा दिने योजना रहेको सामाजिक परिचालक सरु महतले उल्लेख गर्नुभयो । मातृ तथा शिशु मृत्युदर घटाउने सरकारको लक्ष्यलाई सफल पार्ने उद्देश्यका साथ स्तनपान,पोषणका क्षेत्रमा काम गर्ने उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्