बारामा एक पुरुषलाई बाघले आक्रमण गरी जङ्गलतर्फ लगेको आशङ्का
बारा । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्ने बाराको पथलैया–अमलेखगन्ज सडक खण्डमा आज बिहान बाघले एक पुरुषलाई आक्रमण गरी जङ्गलतर्फ लगेको आशङ्कामा खोजी कार्य भइरहेको छ ।
सडकमा हिँडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जङ्गल पसेका थिए । जङ्गल पसेको केही बेरमै ठुलो आवाजमा ती पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशङ्का गरिएको हो ।
अमलेखगन्जबाट करिब १ किलोमिटर दक्षिण तर्फको जङ्गलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशङ्कामा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरी खोजी सुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादवले जानकारी दिनुभयो । पुरुषको पहिचान हुन सकेको छैन ।
यही पुस १८ गते पथलैया–अमलेखगन्ज सडक खण्डमा कारको ठक्करबाट बाघको मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्