एन्फा र पुलिस क्लबबीच सम्झौता
काठमाडौं । फुटबल एकेडेमी सञ्चालनको लागि अखिल नेपाल फुटबल क्लब (एन्फा) र नेपाल पुलिसबीच सम्झौता भएको छ ।
साँगामा रहेको नेपाल प्रहरी स्कुलमा एकेडेमी सञ्चालनको लागि एन्फा र पुलिसले आइतबार सम्झौता गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रहरीका एआईजी निरज बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा आइजी शैलेश थापा क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार नेपाल प्रहरी स्कुलका ७ विद्यार्थीसहित एन्फाले छनोट गरेका सहित २१ विद्यार्थीलाई एकेडेमीमा भर्ना गरिनेछ । जसमा एन्फाले ४ वर्षसम्म एकेडेमीलाई टेक्निकल सहयोग गर्नेछ । यस्तै एन्फाले दुई वर्षका लागि खेलाडीहरू प्रदान गर्नेछ र खेल उपकरणहरू समेत प्रदान गर्नेछ ।
एसियाली फुटबल महासंघ(एएफसी)को कार्यक्रम अनुसार पुलिस क्लबले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो ।
यस अघि त्रिभुवन आर्मी फुटबल क्लबले पनि एएफसीको मापदण्ड पुरा गरेसँग एएफसी लाईसेन्स प्राप्त गरेको थियो । लाईसेन्सका लागि आर्मीलाई पछ्याईरहेको पुलिसले सोही अनुरुप एकेडेमी सञ्चालन गर्ने सम्झौता एन्फासँग गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्