तपाईँ सुन्दै हुनुहुन्छः

तरुलको व्यवसायिक खेती हुन सकेन

पाल्पा ।  आज देशभर माघेसक्रान्ति मनाईदै छ । माघेसक्रान्तिमा बिशेष परिकारको रुपमा तरुलबाट बनेका परिकार खाने चलन छ । जाडो मौषमको बेला शरिरलाई चाहिने पोषक तत्व तरुलबाट पाईन्छ ।

माघेसक्रान्तिमा कन्दमुलको रुपमा रहेको तरुल खाने गरिन्छ । जसका कारण बजारमा तरुलको ठूलो माग हुने गर्दछ । बजारमा माघेसक्रान्तिका समयमा तरुलको माग अत्याधिक हुने गरेको तानसेनका ब्यापारी जमुना गुप्ताको भनाई छ । “चाहेजति तरुल पाइएको छैन त्यसमा पनि बन तरुलको माग बढी छ ।”ब्यापारी गुप्ताले भन्नुभयो ।

पाल्पाका विभिन्न स्थानका कृषकले उत्पादन गरेको तरुल तानसेन,रामपुर तथा बुटवलको बजारमा निर्यात हुँदै आएको छ । यद्यपी हाल सम्म जिल्लामा तरुलको व्यवसायिक रुपमा तरुल खेती हुन सकेको छैन ।

यस जिल्लामा गत वर्षको तुलनामा तरुल उत्पादन घटेको पाईएको छ । जंगल र कान्लाहरुमा यस बर्ष तरुल कम पाईएको मदनपोखराका कृषक ओमबहादुर बस्यालले बताउनुभयो ।

विशेष गरी जिल्लाको निस्दी, रिब्दीकोट छहरा र पूर्वखोला बाट ठूलो परिमाणमा तरुल निर्यात हुँदै आएपनि यस वर्ष घटेको पाईएको छ । निस्दी बाट गत वर्ष १ सय ८८ क्वीन्टल भन्दा बढी निर्यात भएकोमा यस वर्ष १ सय ५७ क्वीन्टलको हाराहारीमा तरुल बाहिरिएको कृषि शाखा प्रमुख खिमराज कोईरालाले जानकारी दिनुभयो ।

त्यस्तै पूर्वखोला बाट गत वर्ष १ सय क्वीन्टल बढी निर्यात भएकोमा यस वर्ष ८५ क्वीन्टल मात्र बाहिरिएको कृषि शाखा प्रमुख सन्तोष कंडेलले जानकारी दिनुभयो । पाल्पाको रम्भा संगै अन्य स्थानिय तह बाट केही मात्रामा तरुल निर्यात हुँदै आएको छ । यस वर्ष वर्षदमा अत्याधिक वर्षद भएको र पछि पानी नै नपरेकाले उत्पादन कम भएको निस्दीका कृषि शाखा प्रमुख खिम कोईरालाले बताउनुभयो ।

निस्दीको झिरुवास, मित्याल, गल्धा, अर्चले, ज्यामीरेका विभिन्न गाउँबाट तरुल संकलन गरी काठमाडौ, बुटवल लगाएतका बजारमा विक्री गरेको निस्दी ५ गल्धाका व्यवसायी कृष्ण रायमाझीले बताउनुभयो । उहाँका अनुसार उत्पादन कम हुँदा सामानको लोड नपुगेर कतिपयले काठमाडौं पठाउन नसकेको बताउँदै खरिद र विक्री बराबर जस्तै मुल्यमा गर्न बाध्य भएको बताउनुभयो ।

भिरालो जमिन, बारीको कान्लामा पनि लगाउन सकिने र अदुवा लगाएत विभिन्न बाली संग घुसुवा बालीको रुपमा लगाउन सकिने भए पनि यसको अझै सम्म व्यवसायिक रुपमो खेती भने हुन सकेको छैन् । साथै तरुल खेतीको प्रवद्र्धनमा कुनै कार्यक्रम आउन सकेको छैन ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले जिल्लाका विभिन्न स्थानमा घरायसी प्रयोजनको लागि तरुल उत्पादन हुँदै आएको तर व्यवसायिक रुपमै भने उत्पादन नभएको बताउनुभयो । हाल घरायसी प्रयोजनका लागि लगाइएको तरुल निर्यात हुँदै आएको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले रईथाने बाली संरक्षण कार्यक्रमका लागि कृषकहरु बाट माग आह्वान गरेका छौं ।

तरुल पनि त्यही कार्यक्रम अन्तर्गत पर्छ । तर अझै निवेदन परेको छैन ।’ उहाँले प्राविधिकहरु मार्फत तरुल सम्बन्धी आवश्यक ज्ञान दिदै आएको बताउनुभयो । तरुल माटो मुनी फल्ने कन्दमूल हो । तरुललाई तरकारीको रुपमा वा उसिनेर खाने गरिन्छ । पाल्पामा हात्तीपाइले तरुल, घर तरुल, सखरखण्डहरु उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button