नौ महिनादेखि वृद्ध महिलाको ओडारमै बास, प्रशासनद्वारा राहत

जुम्ला । माता नाम बताउने एक वृद्ध महिला विगत ९ महिना देखि ओडारमा बास बस्दै आउनु भएको छ । चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओडार (गुफा) मा बस्दै आएकी थिइन । दैलेख जिल्ला स्थायी घर भएकी वृद्ध महिला गएको वैशाख १० गतेदेखि जुम्ला आएर उक्त ओडारमा बस्दै आएको बुझिएको छ । तर उनको खास घर कहाँ हो ? नाम के हो ? कहाँबाट आउनु भएको हो ? भन्ने बारे कुरा उनले बताएकी छैनन् ।
अन्दाजी करिब ५५ वर्षीय वृद्ध महिलालाई चन्दननाथ नगरपालिका ३ सिम्खाडा गाउँका स्थानीयले पालैपालो घरबाटै खाना ल्याइदिएर ओडारमा पुराउने गरेका स्थानीय महिला जानकी रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“मानसिक सन्तुलन गुमे पनि नराम्रो व्यवहार गर्दिनन् । तर खुल्ला आकाशमुनि सुत्ने, वन जङ्गलतिर डुल्ने गर्छिन् ।”

विगत ९ महिनादेखि गाउँलेहरुले नै खाना खुवाउँदै आएका छौ । तर अन्त कतै जानुहोस् घरमा बस्नुहोस् भन्दा नमान्ने गरेको स्थानीय महिला कृष्णा बुढ्थापाले बताउनु भयो । उहाँका अनुसार चाडै उद्धार नभएको खण्डमा वृद्ध महिलाको बेवारिसे मृत्यु हुने अवस्था छ ।
यद्यपि वृद्ध बेवारिसे महिलाले ओडारबाट अन्त कतै नजाने बताउँदै आएकी छन् । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताउनुहुन्छ । तर बढ्दै गएको चिसोले वृद्ध महिलाको उद्दारको विकल्प अरू छैन ।
प्रशासनद्वारा राहत वितरण, उद्धारको तयारी
९ महिना देखि एक्लै ओडारमा बस्दै आएकी बेवारिसे वृद्ध महिलालाई पहिलो चरणमा लत्ता कपडा सहित खाद्यान्न राहत वितरण गरिएको छ । सडक मानवहरूलाई राहत वितरण गर्ने क्रममै बेवारिसे अवस्थामा ओडारमा वृद्ध महिला बसिरहेको भन्ने थाहा पाएपछि बुधवार बिहान प्रजिअ भुपेन्द्र थापा नेतृत्वको टोलीले ओडारमै पुगेर राहत वितरण गरेको हो ।

कठ्याङ्ग्रिँदो चिसोमा खुल्ला ओडारमा बसिरहेकी वृद्ध महिलालाई पहिलो चरणको राहतमा चामल एक बोरो, नुन, तेल, न्यानो कम्बल, ज्याकेट, चाउचाउ, बिस्कुट, पाल, भाडा बर्तन, धोती, लगायतका राहत सामाग्री वितरण गरिएको प्रअिज भुपेन्द्र थापाले बताउनुभयो ।
दीर्घकालीन रुपमा पुनर्स्थापना हुने व्यवस्था नभए सम्मका लागि राहत दिइएको उहाँको भनाई छ । बढ्दै गएको चिसोमा जति बेला पनि तलमाथि हुने भएकाले तत्काल उद्दारमा जोड दिनु राज्यको दायित्व हो । हामी उद्धार कहाँ कहिले कसरी गर्ने भन्नेबारे तयारीमा जुटेको सिडिओ थापाले उल्लेख गर्नुभयो । सुर्खेत मानव सेवा आश्रममा पठाउने वा जिल्लामै व्यवस्थापन गर्ने बारे छलफल गरी चाडै उद्धार गर्ने प्रशासनको तयारी छ ।
उता प्रशासनले दैनिक उपभोग्य अत्यावश्यक खाद्य सामाग्री सहित लत्ता कपडा दिएपछि खुसी हुँदै माता नाम बताउने वृद्ध महिलाले मरुन्जेल ओडारमै बस्ने बताउनुभयो । उहाँले भन्नुभयो,“अब मथ्थै सामान पाए, अब कतै जानु नुपड्न्या भो, निकै खुसी छु, सहयोग गर्ने सबैलाई नमस्कार”







प्रतिक्रिया राख्नुहोस्