तपाईँ सुन्दै हुनुहुन्छः

प्रत्येक नेपालीमा सद्भावपूर्ण सहअस्तित्वको भावना जागृत हुनु आवश्यकः प्रम ओली 

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको सपनाभित्र इतिहासले प्रदान गरेको ज्ञान र वर्तमानले अपेक्षा गरेको विज्ञानको समष्टिगत उपस्थिति रहेको बताउनुभएको छ ।

आज नेपाल  प्रज्ञा प्रतिष्ठानको ३५ औँ प्रज्ञा सभालाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आजको परिवर्तित समाजमा प्रत्येक नेपालीमा  समानता, स्वतन्त्रता, मानवता, भ्रातृत्व, विश्वबन्धुत्व र सद्भावपूर्ण सहअस्तित्वको भावना जागृत हुनु आवश्यक भएको बताउनुभयो  ।

हिमबतखण्डबाट विकसित भएका अनेकौँ दर्शन, सभ्यता र ज्ञान भण्डारणले  विश्वमा प्राज्ञिक नेतृत्व गरिरहेको यथार्थलाई भुल्न नहुने बताउनुहुँदै प्रधानमन्त्री ओलीले विश्वकै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म र दर्शनलगायत ज्ञान विज्ञानको उद्गम भूमि हाम्रो देश नेपालको गरिमालाई अनेकौँ विविधताभित्र लुकेको एकतापूर्ण सामाजिक संरचना र आपसी सद्भावपूर्ण सौन्दर्यले अझै उचाइ प्रदान गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका भौगोलिक प्राकृतिक बहुसांस्कृतिक, बहुजातीय  बहुधार्मिक र विविधता अद्भुत लाग्ने भएको भन्नुहुँदै वैदिक सभ्यताको ज्ञान भूमि नेपालको कला साहित्य संस्कृतिको संरक्षण गरी अहिलेको नयाँ  पुस्तासम्म पुर्‍याउनु वर्तमानको पहिलो दायित्व भएको औँल्याउनुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछिल्लो समयमा नेपाली संस्कृतिमाथि  अतिक्रमण बढ्दै गएकाले यसलाई रोक्न सम्पूर्ण संस्कृतिकर्मीहरुलाई आग्रह गर्नुभयो ।

नेपालको विविध भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल विश्वका ठुला मुलुकहरूको भन्दा कम नभएको भन्नुहुँदै  मन्त्री भट्टराईले पूर्वीय  संस्कृतिभित्रको  विविधता जोगाउन विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई अनुरोध पनि गर्नुभयो ।

प्राज्ञ सभामा हाल प्रतिष्ठानले गरिरहेको कार्यक्रमहरूको समीक्षा र भावी कार्यक्रमिक योजना, नीति र बजेटबारे छलफल हुने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले आफ्नो ६३ औँ वार्षिकोत्सवको अवसरमा  हिजो सोमबार राष्ट्रिय कविता महोत्सवको आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button