रुपन्देहीमा बिस्तारै बढ्न थाले खेलकुद गतिविधि
रुपन्देही । रुपन्देहीमा कोरोना महामारीले रोकिएका खेलकुद गतिविधि बिस्तारै बढ्न थालेका छन् ।
कोरोना सङ्क्रमणको हटस्पट बनेको रुपन्देहीमा केही सातादेखि सङ्क्रमण घट्दै जान थालेकाले खेलकुदका गतिविधि बढ्न थालेका हुन् ।
विभिन्न स्थानीय पालिका तथा त्यहाँ रहेका सङ्घ संस्थाले खेल गतिविधि सुरु गर्न थालेपछि यसको सक्रियता बढेको हो ।
रुपन्देहीको सैनामैनामा सैनामैना व्याटमिन्टन क्लबले राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिसकेको छ ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भेट्रान तथा खुल्ला गरी ६० बढी टिमको सहभागिता रहेको क्लबका अध्यक्ष नन्दु थापाले जानकारी दिनुभयो ।
सैनामैना नगरपालिकाले खेलकुद गतिविधि सञ्चालनका लागि यो वर्ष १९ लाख बढी बजेट विनियोजन गरेको शिक्षा तथा जनस्वास्थ्य शाखाका हेमराज अर्यालले जानकारी दिनुभयो ।
त्यसै गरी तिलोत्तमा नगरपालिकाले यस वर्ष सञ्चालन गरिने विभिन्न विधागत ९ वटा प्रतियोगिताहरू आयोजना गर्ने गरी समय तालिका सार्वजनिक गरेको छ । अहिले वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।
नगरपालिकाले भलिबल, फुटबल, क्रिकेट तथा व्याटमिन्टन लगायतका प्रतियोगिताहरू सञ्चालन गर्ने गरी ४५ लाख बजेट विनियोजन गरेको उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।
कोरोना महामारीले गतिविधि शून्य भएको अवस्थामा खेलकुदका गतिविधिहरू सञ्चालन गर्दा सबैमा उत्साह बढेको उहाँले बताउनुभयो ।
बुटवलमा सौभाग्य युवा क्लबले प्रथम प्रचण्ड थैव कप फुटबल प्रतियोगिता आयोजना गरी खेलाडी तथा दर्शकलाई मैदानमा फर्किने अवसर प्रदान गरेको छ ।
गत मंसिर २० गतेदेखि बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगितामा रुपन्देही, पाल्पा र नवलपरासीका गरी २० टिमको सहभागिता रहेको छ ।
त्यसै गरी फुटबलको विकासका लागि भन्दै गत वर्षदेखि कक्षा सञ्चालन गर्ने तयारी गरेको तिलोत्तमा फुटबल एकेडेमीले पनि छिट्टै गतिविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
विभिन्न विद्यालयका विद्यार्थीलाई समेटेर व्यावसायिक रुपमा प्रशिक्षण सञ्चालन गर्ने योजना बनाउँदै गर्दा कोरोना महामारीले रोकिएका योजनालाई पुनः सञ्चालनमा ल्याउने गरी तयारी भएको एकेडेमीका अध्यक्ष तिलक नेपालीले बताउनुभयो ।
स्थानीय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरू नहुँदा निराश बनेका खेलाडीहरू लामो समयपछि मैदान फर्कन पाउँदा उत्साहित हुन थालेका छन् ।
महामारीले ठप्प बनेको गतिविधि पुनः सञ्चालनमा आउँदा खेलाडी तथा खेलप्रेमीहरुमा उत्साह बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्