होमस्टेलाई स्थानीय जातका कुखुराका चल्ला वितरण

स्याङ्जा । वालिङ नगरपालिकाले होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीय स्वाद दिनका लागि स्थानीय कुखुराका चल्ला वितरण गरेको छ ।
नगरभित्र रहेकाका ८ वटा होमस्टेलाई कुखुराका चल्ला वितरण गरेको हो ।
“होमस्टेहरुमा आउनुहुने स्थानीय तथा बाह्य पर्यकटहरुलार्ई स्थानीय एवं अर्गानिक स्वाद दिनका लागि हामीले स्थानीय जातका कुखुराका चल्ला वितरण गरेको हौँ ।” नगर उपप्रमुख कल्पना तिवारीले भन्नुभयो, “पछिल्लो समय हराउँदै जान थालेको स्थानीय कुखुरापालनलाई समेत प्रर्वद्धन पुग्ने हामीले अपेक्षा लिएका छौँ । कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत हामीले उपलब्ध गराएका छौँ ।” उहाँले भन्नुभयो ।
वालिङ– ५ मा रहेको देउराली महिला कुखुरापालन समूह, वालिङ–७ मा रहेको बनकट्टा होमस्टे महिला कुखुरापालन समूह, वालिङ– १४ को लंकाकोट होमस्टे महिला कुखुरापालन समूह, वालिङ– १० को दाङसिङ होमस्टे महिला कुखुरापालन समूह, वालिङ–१० कै बझाकोट होमस्टे महिला कुखुरापालन समूह, वालिङ–१२ को कोखे होमस्टे महिला कुखुरापालन समूह र वालिङ–१२ कै त्रिकन्या होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६०० वटाका दरले चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।
यसरी वितरण गरिएको चल्ला होमिस्टेमा आवद्ध २०–३० घर परिवारले भाग लगाएर आ–आफ्नो घर घरमा पाल्नेछन् । पहिलो चरणमा ८ वटा होमस्टेलाई ४ हजार ८०० कुखुराका चल्ला वितरण गरिएको र अब केही दिनमा बाँकी रहेका राम्चे बुढाकोट होमस्टे र सुन्तलाबारी सामुदायिक होमस्टेलाई समेत चल्ला वितरण गरिने शाखा प्रमुख श्रेष्ठको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्