एन्टिजीन परीक्षण नेगेटिभ आएका र लक्षण देखिएकामा पुनः पीसीआर परीक्षण गरिने

काठमाडौँ । कोरोना भाइरसको एन्टीजीन परीक्षण नेगेटिभ आएकाहरू मध्ये सङ्क्रमणको लक्षण भएकाहरूको पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले काठमाडौँका विशेष स्थानहरूमा भइरहेको एन्टीजीन परीक्षणमा परीक्षण नेगेटिभ आए पनि लक्षण देखिएका व्यक्तिहरूको पुनः पीसीआर परीक्षण गरिने जानकारी दिनुभयो ।
प्रवक्ता प्रा. डा गौतमले एन्टिजीन परीक्षणपछि नेगेटिभ आएका तर लक्षण नभएकाहरूको भने पुनः पीसीआर परीक्षण गर्न नपर्ने बताउनु भयो ।
यस्तै, एन्टिजीन परीक्षण प्रभावकारी देखिएको जानकारी गराउनुहुँदै प्रा. डा गौतमले एन्टिजीन परीक्षणलाई प्रमाणीकरणको लागि सँगसँगै गरिएको पीसीआर परीक्षणको रिपोट समेत छिटै प्रकाशित गर्ने जानकारी दिनुभयो ।
कूल संक्रमित मध्ये ९४.३ प्रतिशत संक्रमित निको
नेपालमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये ९४ दशमलव ३ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ हजार ४ सय ८३ जना संक्रमण निको भएसँगै हालसम्म ९४ दशमलव ३ प्रतिशत संक्रमित निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।
यस्तै आज १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार २ सय ८६ वटा पीसीआर परीक्षण गर्दा ६ सय ७० पुरुष र ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।
यस्तै हाल देशभर १२ हजार २ सय ४५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ६ सय ९ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ३० जनाको आई.सी.यु मा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १४ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ५१ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्